सरकारले ४० वर्ष उमेर माथिका सबै नागरिकको पिसाब परीक्षण गर्ने – Nepal Press

सरकारले ४० वर्ष उमेर माथिका सबै नागरिकको पिसाब परीक्षण गर्ने

काठमाडौं । ४० वर्ष उमेर माथिका नागरिकको पिसाब परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा प्रमुख कृष्ण पौड्यालले संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् ।

मुलुकभरका सबै वडा-वडामा पुगेर उनीहरुको पिसाब जाँचिने उनले जनाए । नेपालमा ४० वर्ष माथिको जनसंख्या ६५ लाख ३७ हजार छ ।

प्रवक्ता पौडेलका अनुसार मिर्गौला रोगबाट बचाउन पूर्व रोकथामका लागि यो अभियान सुरु गर्न लागिएको हो । पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने उनको भनाइ छ । बेलैमा ध्यान दिए नसर्ने रोगबाट बच्ने र बचावटको उपाय सस्तो रहेकाले मिर्गौला रोगबाट जोगाउन पिसाब जाँचको तयारी भएको उनले बताए ।

सरकारले नीति तथा कार्यक्रममा समेत ४० वर्ष माथिका नागरिकको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निःशुल्क जाँचको व्यवस्था गर्ने उल्लेख गरेको थियो । सोही नीति कार्यान्वयन गर्न यस्तो अभियान थाल्न लागिएको हो ।

अहिले नेपालमा ४९६ वटा मेशिनबाट हेमाडाइलाइसिस सेवा सञ्चालन भइरहेको र यो वर्ष १५० वटा मेशिन थप्ने कार्यक्रम रहेको उनले जानकारी दिए । नसर्ने रोगको प्रकोप अत्याधिक रहेको र अध्ययहरुले ७१ प्रतिशत मृत्यु नसर्ने रोगकै कारण भएकाले ती रोगबाट बचाउन भन्दै सरकारले यस्तो नीति लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर