भोजपुर एमालेमा १० बुँदे कार्यान्वयन, एकताको सन्देश दिँदै पदाधिकारी हेरफेर (सूचीसहित) – Nepal Press

भोजपुर एमालेमा १० बुँदे कार्यान्वयन, एकताको सन्देश दिँदै पदाधिकारी हेरफेर (सूचीसहित)

भोजपुर । १० बुँदे सहमति कार्यान्वयन गर्दै जेठ २ मा फर्काइएको नेकपा एमाले भोजपुर कमिटीका पदाधिकारी हेरफेर गरिएको छ ।

पार्टी विभाजनपछि पहिलोपटक हिजो एमाले जिल्ला कमिटीको बैठक तथा कार्यकर्ता भेला भएको थियो । पार्टीलाई तल्लो तहसम्म सशक्त उपस्थिति गराउने उद्घोषसहित जिल्ला नेतृत्वमा जुझारु टिम अघि बढाइएको हो । पदाधिकारी हेरफेरमा हिजो एमाले विभाजनको क्रममा समानान्तर कमिटीमा रहेकाहरूलाई पनि जिम्मेवारी दिइएको छ । भने केहीले त्याग गरेका छन् ।

२०७५ जेठ २ को संरचनामा अध्यक्ष रहेका प्रेमकुमार राई अध्यक्ष नै छन् । उनी हतुवागढी गाउँपालिका प्रमुख पनि हुन् । उपाध्यक्ष देवीराम चौलागाईंको ठाउँमा शरणकुमार राईलाई जिम्मेवारी दिइएको छ । माधव पक्षको समानान्तर कमिटीका अध्यक्ष बनेका राईले पार्टी फुटप्रति असन्तुष्टी जनाउँदै एमालेमै रहने निर्णय गरेका थिए । साविक कमिटीमा सचिव रहेका राईको ठाउँमा मक्कर खड्कालाई ल्याइएको छ ।

जिल्लामा समानान्तर कमिटी बनेपछि एमालेको संस्थापन पक्षले अखिलका नेता खड्कालाई उपाध्यक्ष र पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राईलाई सचिव बनाइएको थियो । पदाधिकारी परिवर्तनसँगै किरणले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । सहसचिवमा धर्म किरातीलाई ल्याइएको छ । उनी माओवादीबाट एमाले प्रवेश गरेका हुन् । साविकमा सन्देश पौडेल सहसचिव थिए ।

जिल्ला कमिटीमा समानान्तर कमिटीमा रहेका सदस्यहरूलाई समेत मर्ज गरिएको छ । अब एमाले भोजपुर एकताको सन्देश बोकेर ठोस रणनीतिका साथ जनस्तरसम्म अभियान लिएर जाने सचिव खड्काले नेपाल प्रेसलाई बताए ।

कात्तिक ६ गते वडा र कात्तिक ९ गते सबै स्थानीय तहका कमिटीको अधिवेशन गर्ने निर्णय पनि भेलाले गरेको छ । हिजोको कार्यक्रममा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य हरिबहादुर राई, अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष देवीराम चौलागाईं, सचिव शरणकुमार राई, पूर्वसांसद धनहर्क राईलगायतका नेता/कार्यकर्ता उपस्थित छन् ।

नेकपा एसले भने केही दिनअघि वीरजंग राईको नेतृत्वमा १५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिसकेको छ । वीरजंग साविक कमिटीमा सचिवालय सदस्य थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर