पौडेलको आपत्तिपछि देउवाले बोलाए पदाधिकारी बैठक – Nepal Press

पौडेलको आपत्तिपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी निर्णय गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएपछि कांग्रेस सभापति देउवाले बुधबार तीन बजे बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले पार्टीभित्र सल्लाह नगरी एक्लै अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता पौडेलले संस्थापन इतर समूहको बैठक बोलाएका थिए । बुधबार ९ बजे बोहोराटारमा बस्ने बैठकबाट सभापति र प्रधानमन्त्रीविरुद्ध उभिने संकेत पौडेलले गरेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

‘मन्त्रिपरिषदको विषय पार्टीभित्र छलफल होस भन्ने प्रधानमन्त्री एवं सभापतिको पनि चाहना हो । त्यसैले पदाधिकारी बैठक बोलाइएको छ’, देउवा निकट एक नेताले नेपाल प्रेससंग भने । पौडेल पक्षले लगाएको आरोप निराधार रहेको र परराष्ट्रमन्त्री अत्यावश्यक भएकोले प्रधानमन्त्रीले निर्णय लिन चाहनु स्वभाविक भएको ती नेताले बताए ।

उता वरिष्ठ नेता पौडेलले भने पार्टीभित्र छलफल गर्न नपर्ने हो भनी प्रधानमन्त्रीसंग प्रश्न गरेका छन् । ‘पार्टीमा छलफल नै नगरी सभापतिले एकलौटी गर्न मिल्दैन । सत्तामा पुग्दैमा छलफल नै गर्न नपर्ने हो र ? एकलौटी गर्न खोजेको हो भने हामी प्रतिवाद गर्छौ’, पौडेलले भने । उनले व्यक्तिमा भन्दा विधिमा आफ्नो प्रश्न रहेको बताए ।

‘यो कांग्रेसको सरकार हो भने यसमा कांग्रेसले निर्णय लिनुपर्यो । व्यक्ति जो होला पार्टीले निर्णय लिनुपर्छ’, पौडेलले भने । पौडेल पक्षबाट डा. मिनेन्द्र रिजाल र सुजाता कोइराला परराष्ट्रमन्त्रीका दावेदार थिए ।

सत्तारुढ गठबन्धनको आजको बैठकमा आवश्यकताको हिसाबले तत्कालका लागि परराष्ट्रम्न्त्री नियुक्त गर्ने सहमति भएको थियो । गठबन्धनका नेताहरुले परराष्ट्रमा कांग्रेसले कसलाई ल्याउँछ ? भनी सोधेका थिए ।

कांग्रेसले परराष्ट्रमन्त्री पाउने सहमति भएपछि प्रधानमन्त्री देउवाले डा. नारायण खड्कालाई जिम्मेवारी दिन चाहेको बताएका थिए । यसअघि स्वास्थ्य राज्यमन्त्री नियुक्तिमा गठबन्धनमा विवाद भएपछि देउवाले त्यस उप्रान्त सल्लाह गर्ने वाचा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर