कर्णदासको पाइला पछ्याउँदै छोरा मर्कुश : यस्तो छ डेब्यु सांगीतिक भिडिओ – Nepal Press

कर्णदासको पाइला पछ्याउँदै छोरा मर्कुश : यस्तो छ डेब्यु सांगीतिक भिडिओ

काठमाडौं । कर्ण दास गम्भीर गीत गाएर चिनिएका गायक हुन्। उनका छोरा मर्कुश दास भने रोमान्टिक गीतका साथ पहिलो म्युजिक भिडिओ लिएर आएका छन्। युट्युब मार्फत ‘थाहा छैन’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत कुशल पोखरेलको छ।

मर्कुशले चार वर्षअघि मेलिना राईसँग ‘जिन्दगी ओराली उकाली’ बोलको गीत गाएका थिए। गीतले युगल गायनतर्फबाट इमेज अवार्डसमेत जितेको थियो।

स्तरीय गीत भए पनि त्यसको म्युजिक भिडिओ बन्न सकेन। त्यसबाहेक पनि गायक मर्कुशले दुई गीत गाएका छन् जसको अडियो र लिरिकल भिडियो मात्र सार्वजनिक भयो। पहिलो पटक भिडिओसहितको गीत सार्वजनिक गरेका मर्कुश यस गीतका म्युजिक भिडिओ निर्देशक पनि हुन्।

पोखराबाट मध्याह्नु ब्यान्डका गायकका रुपमा उदाएका कर्ण दासले पछि आधुनिक गायनमा पनि विशिष्ट छाप छोडे। बुबाजस्तै मर्कुशको संगीत यात्रा पनि ब्यान्डबाटै सुरु भएको हो। उनी प्लस टुको पढाइपछि ‘प्रतिविम्ब’ ब्यान्डमा सक्रिय भए। पाँच सदस्य रहेको ब्यान्डले पोखराका कन्सर्ट र रेस्टुरेन्टहरुमा प्रस्तुति दिने गर्दथ्यो।

बिबिएको पढाइ छोडेर काठमाडौं आएका मर्कुशले गायनभन्दा बढी संगीतको प्राविधिक पाटोमा बढी समय दिए। दुई वर्ष ‘अकस्टिक स्टुडियो’मा साउन्ड इन्जिनियरका रुपमा काम गरेका उनले नेपाल म्युजिक स्कुलमा केही समय पियानो सिके। त्यसयता स्वअध्ययन र स्वअभ्यासबाट उनी संगीत क्षेत्रको नजिक छन्।

तर, गीत सार्वजनिक गर्ने उनको रहर पूरा भएको थिएन। केही अडिओ र लिरिकल भिडिओ सार्वजनिक भए पनि गीत बाहिर ल्याउन सकेका थिएनन्। जिन्दगी ओराली उकाली सार्वजनिक हुँदा मर्कुश नेपालमै थिए। हाल उनी अष्ट्रेलियामा छन्। हस्पिटालिटीमा डिप्लोमा सकाएका उनी भविष्यमा संगीतको औपचारिक अध्ययन गर्ने सोच रहेको बताउँछन्।

मर्कुशका अनुसार यो गीत एक वर्षअघि नै सार्वजनिक गर्ने तयारी भएको थियो। तर, कोरोना महामारीका कारण ढिलाइ भयो। ढिलै भए पनि पहिलो पटक गीतको भिडियो सार्वजनिक भएपछि उत्साह बढेको उनले बताए। उनले भने, ‘भिडियोसहित नयाँ गीत आउँदा खुसी त छ नै। पहिलो पटक म्युजिक भिडिओ निर्देशन गरेकोले पनि उत्साहित छु।’

२५ वर्षीय मर्कुशको मात्र नभई भिडियोमा सम्बद्ध धेरै जनाका लागि नयाँ अनुभव बनेको छ। अष्ट्रेलियामा छायांकन भएको भिडिआमा सुबिर भन्डारी र हिलारी रावलले अभिनय गरेका छन्। प्रयुष मानन्धरको सिनेमेटोग्राफीको भिडियोलाई सुदीप विष्टले सम्पादन गरेका छन्।

‘थाहा छैन’ शिक्षा सदन एजुकेसन एन्ड भिसा सर्भिसेज, सानो क्याफे र लाखे इभेन्टसको सहयोगमा निर्माण भएको हो। विदेशमा बसेर पनि संगीतमा सक्रिय हुने बताएका उनले चाँडै नयाँ गीत संगीत लिएर स्रोतामाझ आउने बताए। हेर्नूस गीत :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर