१८ दिनसम्म उठेन सीताको शव, हत्या कि आत्महत्या भन्ने नै अन्योल – Nepal Press

१८ दिनसम्म उठेन सीताको शव, हत्या कि आत्महत्या भन्ने नै अन्योल

रुपन्देही । भदौ १९ राति आफ्नै घरमा मृत अवस्थामा भेटिएकी १८ वर्षीया सीता भण्डारीको शव अझैसम्म उठ्न सकेको छैन । तिलोत्तमा नगरपालिका–५, मणिग्रामकी भण्डारीको हत्या भएको दावी गर्दै माइती पक्ष र स्थानीय निरन्तर आन्दोलन गरेका शव भेटिएको १८ दिनसम्म भण्डारीको शव उठ्न नसकेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको आफ्नै वडामा भएको घटनामा पनि प्रहरीले गम्भीर अनुसन्धान नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । अहिले सीताको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले सीताको हत्या भएको भन्दै निरन्तर आन्दोलन गरिरहेको छ । सीताको माइती पक्षको आन्दोलनलाई धेरै स्थानीयले साथ दिएका छन् ।

उनको न्याय माग्दै सो क्षेत्रमा दिनहुँ विरोधका कार्यक्रम भइरहेका छन् । केही दिनयता प्रहरीले अनुसन्धान शुरु गरेपछि स्थानीयको आन्दोलन केही मत्थर भएको छ ।

भदौ १९ गते सीताको मृत्यु भएपछि आत्महत्या दुरुत्साहन मुद्दा अन्तर्गत प्रहरीले मृतकका श्रीमान् टीका पौड्याललाई पक्राउ गरेको थियो । लगत्तै प्रहरीले तिलोत्तमा–५ का वडा सदस्य एवं मृतकका जेठाजु हरि पौड्याल र उनकी दिदी (मृतककी आमाजू) विष्णुलाई पक्राउ गरेको छ । उनीहरू तीनै जनामाथि आत्महत्या दुरुत्साहन मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘सीताको मृत्यु भएको १० दिनसम्म त प्रहरीले जाहेरी लिन नै मानेको थिएन, माथिको आदेश छ लिन नमिल्ने भनेर रोके, कहिले के भनेर रोकेको छ कहिले के भनेर रोकेको छ गर्यो, अहिले पनि विभिन्न बाहानामा समय गुजार्ने काम भएको छ’, मृतकका मामा रामप्रसाद पोखरेलले भने ।

कहाँ चुक्यो प्रहरी ?

प्रहरीले सुरुमै सीताको मृत्युलाई आत्महत्या ठहर गरेको हो । आफ्नो यही ठहरलाई पुष्टि गर्न प्रहरीले धेरै दिनसम्म माइती पक्ष र स्थानीयको जाहेरी लिन मानेन ।

केहीले यसलाई गृहमन्त्रीकै दबाबका रुपमा पनि लिए । सीताको हत्या भएको किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले दर्ता गर्न नमानेपछि माइती पक्ष र छिमेकीले दिनहुँजसो आन्दोलन गरे । त्यसपछिछि मात्र प्रहरीले किटानी जाहेरी लिन बाध्य भएको हो । शुरुमा सिताका बाबु हरिप्रसाद भण्डारीले छोरीको हत्या भन्दै किटानी जाहेरी लिएर इलाका प्रहरी बुटवलमा पुगेपनि दर्ता नभएपछि शंका बढेको हो ।

माइती पक्षले सीताको हत्या नै भएको भन्दै लगातार आन्दोलन गर्दै आएपछि भने जिल्ला प्रहरी कार्यालयले तीनै जनाविरुद्ध किटानी जाहेरी लिएको थियो । प्रहरीले घटनाको १० दिनपछि मात्र किटानी जाहेरी लिएको हो ।

प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान प्रभावित नहोस् भनेर आफूहरूले अहिले आन्दोलनलाई स्थगित गरेको स्थानीयवासी शान्ता बस्याल भट्टराईले बताइन् । अहिले शव उठाउँदा अनुसन्धान फितलो बनाउनसक्ने भएकाले आफूहरूले शव उठाउन नमानेको उनको भनाइ छ ।

पुनः पोष्टमार्टम गर्नु परेमा वा अन्य विधिका लागि पनि अझै शव चाहिन सक्ने भएकाले पनि शव नउठाइएको माइती पक्षको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले पनि सीताको मृत्युका सम्बन्धमा अनुसन्धान जारी रहेको जनाएको छ ।

भिसेरा रिपोर्ट कुर्दै प्रहरी, सिआईबीकोे अनुसन्धान शुरु

यो घटनाको अनुसन्धानका लागि अहिले प्रहरीले भिसेरा रिपोर्ट कुरेको छ । प्रहरीकै भनाइअनुसार भिसेरा रिपोर्ट आउन कम्तिमा एक महिना लाग्न सक्छ ।

आफन्तहरूले माग गरेजस्तै ‘रि–पोष्टमार्टम’ नगरे पनि भिसेरा रिपोर्ट आएपछि आत्महत्या नै हो या हत्या हो भन्नेबारे केही भन्न सकिने प्रहरी अधिकृतको भनाइ छ । योे घटनाबारे अनुसन्धान गर्न सीआईबीको टोली रुपन्देहीमा आइसकेको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले सीआईबीको टोलीले केही दिन रुपन्देहीमै बसेर अनुसन्धान गर्ने जानकारी दिएका छन् । प्रहरी निरीक्षकको कमान्डमा आएको सो टोलीले अनुसन्धान गरिरहेको र केही दिनमा त्यसको रिपोर्ट आउनसक्ने प्रहरी अधिकारीको भनाइ छ ।

माइती घर गएकी सीतालाई सोही दिन घरबाट फोन गरी बोलाइएकाले र घटनापछि प्रहरी, सीताका घरपरिवारको भनाइ आसपमा बाझिएकाले घटना थप रहस्यमयी बनेको छिमेकीले बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर