प्रधानमन्त्रीलाई भेट्दै फिल्मकर्मी : दशैंअघि फिल्म रिलिजको वातावरण बनाउन माग – Nepal Press

प्रधानमन्त्रीलाई भेट्दै फिल्मकर्मी : दशैंअघि फिल्म रिलिजको वातावरण बनाउन माग

लगानीको ५० प्रतिशत सुनिश्चित गर्न सरकारलाई आग्रह

काठमाडौं । दशैंअघि फिल्म रिलिजको वातावरण गराउन फिल्म निर्माता र प्रदर्शकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन् । यसअघि सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका उनीहरुले कांग्रेस सभापति समेत रहेका देउवालाई भेट्न लागेका हुन् ।

फिल्म क्षेत्रलाई चलायमान बनाउन सरकारले ३ देखि ६ महीनासम्म रिलिज हुने फिल्मको कूल लगानीको ५० प्रतिशत सुनिश्चित गर्नुपर्ने मुख्य माग प्रधानमन्त्रीलाई पेश गर्ने तयारी छ ।

‘कम्तीमा ३ देखि ६ महीनासम्म हलमा लाग्ने फिल्मको लगानीको आधा रकम सरकारले ग्यारेन्टी गर्नुपर्छ र सोहीअनुसार यो क्षेत्रलाई चलायमान बनाउन सकिन्छ’ निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल प्रेसलाई भने ।

‘हामी दशैंलाई मिस गर्न चाहँदैनौं र यसका लागि सरकारले उपयुक्त वातावरण तयार गर्नुपर्छ’ अधिकारीले भने, ‘हामीले प्रधानमन्त्रीसँग फिल्म छायांकनको लागि अनुदानसहित फिल्म हलको लागि डिमान्ड शुल्कको माग पनि प्रस्तुत गर्नेछौं ।’

दिनुहँजसो हुने छलफलमा निर्माताले यिनै माग राखेकाले अहिले हल खुलाउन सरकारले अनुमति दिएपनि फिल्म नभएकाले हल संचालन हुन सकेका छैनन् । भोलि प्रधानमन्त्रीसँग भेटपछि दशैंमा फिल्म रिलिजका लागि टुंगो लाग्न सक्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए ।

दशैं फूलपाति सुरु हुन २० दिन बाँकी रहेपनि अहिलेसम्म लाइनअप तयार नहुँदा रिलिज नहुने सम्भावना बढ्दै गएको छ । सरकारले हल खुलाउन अनुमति दिएपनि उत्साहित फिल्मकर्मी अहिले भने रिलिजकै टुंगो नलाग्दा निराश बनेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर