मेयर कुट्नेमाथि मुद्दा नचलाउन बुटवल एमालेको आग्रह – Nepal Press

मेयर कुट्नेमाथि मुद्दा नचलाउन बुटवल एमालेको आग्रह

रूपन्देही । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले प्राविधिकसहित ज्योतिनगर क्षेत्रको पहिरो अवलोकनमा गएका बुटवल मेयर शिवराज सुवेदीमाथि आक्रमण गर्ने व्यक्तिमाथि मुद्दा नचलाउन आग्रह गरेको छ ।

सोमबार पहिरोको अवलोकन गर्न गएका मेयर सुवेदीमाथि भएको आक्रमणको आलोचना गर्दै एमाले नगर अध्यक्ष बाबुराम पन्थीले आक्रमण गर्ने व्यक्तिविरूद्ध मुद्दा चलाउन दबाब नदिने बताएका हुन् ।

स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई सोमबार मुक्का हानेपछि सबैतिरबाट घटनाको विरोध तथा दोषीलाई अनुसन्धानमा ल्याउन दबाब आएपछि सोमबार साँझ नै उनी पक्राउ परेका छन् ।

चुरेको पहिरो नियन्त्रण र व्यवस्थापनमा चासो देखाउन संघ र प्रदेश सरकारसँग माग गर्दै पन्थीले पहिरोग्रस्त क्षेत्रको जोखिम स्थानीय सरकारको पहुँचमा नभएकाले संघ र प्रदेश सरकारले चासो देखाउनुपर्ने बताए ।

पन्थीले भने, ‘ज्योतिनगरको पहिरो स्थानीय सरकारको नियन्त्रणभन्दा बाहिर गयो, स्थानीय सरकारले मात्रै पहिरो नियन्त्रण गर्न र राहत दिन सक्दैन, संघ र प्रदेश सरकारको ध्यान जानुपर्छ, यसको व्यवस्थापनमा अर्बौं रकम खर्च हुने अवस्था आइसकेको छ ।’

‘बुटवलमा एमाले नेतृत्वको सरकार छ, स्थानीय सरकार गम्भीर छ, पार्टी पनि गम्भीर छ, हामी स्वयमंसेवक परिचालन गर्न तयार छौं, ‘ उनले भने ।

बुटवलमा भदौ १३ र असोज ४ गते गएको चुरे पहिरोले दुई दर्जन घर पुरिएका छन् भने दर्जनौं विस्थापित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर