७ जिल्लामा आज कांग्रेसको वडा अधिवेशन, १३ जिल्ला अझै बाँकी – Nepal Press

७ जिल्लामा आज कांग्रेसको वडा अधिवेशन, १३ जिल्ला अझै बाँकी

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ ।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

निर्वाचन समितिले यसअघि २० जिल्लाको वडा अधिवेशन एकैपटक आज गर्नेगरी कार्यतालिका ल्याएको भएपनि क्रियाशील सदस्यता विवादका कारण आज १३ जिल्लामा वडा अधिवेशन सुरु हुन नसकेको हो ।

भदौ १८ गतेदेखि आरम्भ भएको स्थानीय अधिवेशनको कार्यतालिका अनुसार ५७ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न भइसकेका छन् । प्रदेश नम्बर २ का आठ जिल्लाका साथै सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा वडा अधिवेशन सुरु हुन सकेका छैनन् ।

ती जिल्लामा क्रियाशील बारे सहमति भइसकेपनि सूचीले पूर्णता पाइनसकेको बताइएको छ । क्रियाशील सदस्यताको सूची प्राप्त हुनासाथ बाँकी १३ जिल्लामा पनि तत्काल अधिवेशन गरिने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको वडा अधिवेशनले वडा कार्यसमितिसंगै क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । तीनै क्षेत्रीय प्रतिनिधिले कांग्रेसको स्थानीय तह, क्षेत्र, र जिल्ला कार्यसमिति चयन गर्नेछ । त्यस्तै क्षेत्रीय प्रतिनिधिरुह मध्येबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरुले नै कांग्रेसको महाधिवेशनमा भाग लिनेछन् ।

महाधिवेशन कार्यतालिका अन्तर्गत असोज ९ गते गाउँ/नगर अधिवेशन हुँदैछ । कांग्रेसमा संस्थापन इतर समूहले सबै जिल्लाको वडा अधिवेशन सकेर मात्रै एकैदिन गाउँ/नगर अधिवेशन गर्न माग गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर