नेपाल र भारतको संयुक्त सैन्य अभ्यास आजदेखि उत्तराखण्डमा सुरु – Nepal Press

नेपाल र भारतको संयुक्त सैन्य अभ्यास आजदेखि उत्तराखण्डमा सुरु

काठमाडौं । नेपाल र भारतको १५ औं संयुक्त सैन्य अभ्यास आजदेखि भारतीय राज्य उत्तराखण्डको पिथौरागढमा सुरु भएको छ । सूर्य किरण नाम दिइएको उक्त अभ्यासमा दुबै मुलुकका कमान्डो बटालियन सहभागि छन् ।

भारतीय सेनाका लायसन अफिसर क्याप्टेन कूलदीपका अनुसार अभ्यासमा दुबै देशका सेनाहरुले हतियार कसरी संचालन गर्नेदेखि लिएर पर्वतीय युद्धकला, विपद व्यवस्थापन, पहाडमा उद्धार र राहत कार्यबारे कौशल सिक्ने जनाइएको छ ।

साथै, सैनिकहरुले मानवीय सहायताका तरिकाहरु, जंगल युद्धकला, उच्च भूभागमा लडने कला र विपदमा जुट्ने तरिकाबारे सिक्नेछन् । पहाडी खोंचहरुमा प्रत्याक्रमण तरिकाबारेको ४८ घण्टे अभ्यास पनि उनीहरुले गर्ने भएका छन् ।

यो सिकाइलाई दुबै सेनाबीचको अनुभव आदानप्रदान मानिएको छ । क्याप्टेन कूलदीपले यो अभ्यासले दुबै मुलुकको द्धिपक्षीय मैत्रीपूर्ण सम्बन्ध थप बलियो हुने समेत बताए । अघिल्लो सूर्यकिरण सैन्य अभ्यास सन् २०१९ मा नेपालमा भएको थियो ।

अक्टोबर ३ सम्म अभ्यास चल्नेछ । संयुक्त सैन्य अभ्यासको शुभारम्भ समारोहमा दुबै देशका सैनिक अधिकृतहरु सहभागि थिए । भारतीय सेनाका लेफ्टीनेन्ट जनरल एसएस महलले सम्बोधन गरेको कार्यक्रममा उनले संयुक्त सैन्य अभ्याससँगै दुबै मुलुकको सम्बन्ध थप प्रगाढ हुने बताए ।

अभ्यासमा भाग लिन दुबै देशका ६५० जना सैन्य प्रतिनिधि पिथौरागढमा पुगेका छन् । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो पहिलो सम्बोधनमा सैनिक कूटनीतिलाई बढावा दिनेतर्फ संकेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर