निजामति कर्मचारी संगठनको कार्यालयमा विवाद, दुवै पक्षका नेताहरु पक्राउ – Nepal Press

निजामति कर्मचारी संगठनको कार्यालयमा विवाद, दुवै पक्षका नेताहरु पक्राउ

काठमाडौं । नेपाल निजामति कर्मचारी संगठनको केन्द्रीय कार्यालय भवन कब्जा गर्ने क्रममा दुई पक्षबीच विवाद भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । एमाले विभाजनसँगै कर्मचारी संगठन पनि विभाजित भएको छ ।

अध्यक्ष केदार देवकोटासहितको संस्थापन पक्ष केन्द्रीय कार्यालयमा काम गरिरहेका बेला नेकपा एस निकट कर्मचारी नेताहरुको टोली आफूहरु आधिकारिक भएको भन्दै कार्यालय पुगेपछि विवाद भएको थियो ।

सिंहदरवारको पश्चिम गेट अगाडि रहेको संगठनको कार्यालय भवनमा नाराबाजी र झडपको अवस्था भएपछि प्रहरी पुगेको हो । प्रहरीले दुवै पक्षका नेताहरुलाई पक्राउ गरेको छ ।

अध्यक्ष केदार देवकोटासहित संस्थापन पक्षका कर्मचारीलाई अनमानगरस्थित प्रहरी कार्यालयमा लगिएको छ भने नेकपा एस पक्षका अध्यक्ष रेवन्त गौतम, पूर्व अध्यक्ष मोहन घिमिरे, महासचिव शरण गुरुङ लगायतलाई महेन्द्र पुलिस क्लबमा लगिएको छ ।

संगठनबाट बाहिरिएका पक्षले कार्यालयमा कब्जा गर्ने उद्देश्यले नाराबाजी र तोडफोड गरेको आरोप प्रहरी कार्यालयमै रहेकी केन्द्रीय सदस्य अन्जु बस्नेतले बताइन् । उनका अनुसार प्रहरीले १० मिनेटमा कार्यालय खाली गर्न भन्दै निकालेको थियो ।

उता पूर्व अध्यक्ष मोहन घिमिरेले भने आफूहरुलाई महेश बस्नेतका गुण्डा लगाएर कार्यालयमा प्रवेश गर्न नदिइएको र प्रहरीले पक्राउ गरेको बताए । उनले भोलि पनि कार्यालयमा जाने बताए ।

कर्मचारी संगठन विभाजनसँगै आधिकारिकताको विवाद बढेको छ । घिमिरे पक्ष आधिकारिकता दावी गर्दै श्रम कार्यालयमा गएको छ । तर अध्यक्ष देवकोटाले भने आफूसहित कार्य समितिको बहुमत संगठनमै रहेकाले आफूहरु नै आधिकारिक रहेको बताए ।


प्रतिक्रिया

One thought on “निजामति कर्मचारी संगठनको कार्यालयमा विवाद, दुवै पक्षका नेताहरु पक्राउ

  1. केन्द्रियका ९० भन्दा बढि सदस्य बिद्यमान हुँदाहुँदै पुरानो बैठकको माईन्यूट पेशेर मृत्य भैसके, बिदेशमा रहेका, सिडियो वनेका आदिको सहि देखियो, छानविन तु होस्, को सत्य, को अराजक, को झुठ, समयले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर