एमाले स्थायी कमिटी बैठकका लागि च्यासल पुगे नेताहरू (तस्बिरहरू) – Nepal Press
एमाले स्थायी कमिटी बैठकका लागि च्यासल पुगे नेताहरू (तस्बिरहरू)
उमेश कार्की २०७८ असोज ४ गते १३:३७
२०७८ असोज ४ गते १३:३७

काठमाडौं । नेकपा (एमाले) को दोस्रो दिनको स्थायी कमिटी बैठक भर्खरै शुरू भएको छ । हिजोदेखि जारी बैठकमा विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल थालिएको छ ।

विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, विधान संशोधनसम्बन्धी र सांगठानिक प्रतिवेदनमाथिको छलफलमा बैठक केन्द्रित छ । यही असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि आइतबार स्थायी कमिटी सदस्यहरू अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले विचार राखेका थिए ।

आज बाँकी सदस्यले सुझाव राखेपछि आवश्यक सुझाव समेटेर प्रतिवेदन परिमार्जन गरी ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । केन्द्रीय कमिटीबाट पनि आएका सुझावलाई समेटेर विधान महाधिवेशनमा प्रतिवेदन पेस गरिनेछ ।

राजनीतिक प्रतिवेदनमा पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको कार्यदिशा र समग्र कामको मूल्यांकन पनि बैठकका एजेण्डा छन् ।