भुवनले दिए गौरीलाई ‘महानायिका’ उपाधि, शिवलाई ‘महानायक’ संज्ञा – Nepal Press

भुवनले दिए गौरीलाई ‘महानायिका’ उपाधि, शिवलाई ‘महानायक’ संज्ञा

गौरी भन्छिन् : यो देशमा उपाधिको औचित्य छैन

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा उपाधिलाई लिएर विवाद हुनु नयाँ होइन । प्रत्येक व्यक्ति र संस्थाले निजी तवरबाटै उपाधि वितरण गरिरहेका हुन्छन् । यसलाई लिएर एकरुपता पनि पाइँदैन ।

केही वर्षपहिले एक टेलिभिजन कार्यक्रम संचालकले राजेश हमाललाई महानायक र करिश्मा मानन्धरलाई महानायिका भएको बताए । उनले टिभी कार्यक्रमबाटै राजेश र करिश्मालाई यस्तो उपाधि दिएपछि दर्शकले पनि हमाललाई महानायक र करिश्मालाई महानायिका भन्न थाले ।

यसबीचमा धेरैपटक यो उपाधिलाई लिएर पटक–पटक विवाद समेत हुने गरेको छ । यसैसाता काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा अभिनेताद्धय भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ललाई महानायिकाको उपाधि दिए ।

शोभित बस्नेतले निर्देशन गरेको फिल्म डाँडाको बरपीपलमा भुवन र शिवले गौरीजस्तो अभिनेत्री अझै केही पुस्तामा नआउने दावी गर्दै गौरीलाई अभिनयकी वास्तविक महारानी र महानायिका भएको बताए । भुवनले त अझै शिवलाई महानायक भन्न समेत भ्याए ।

जवाफमा अभिनेत्री मल्लले आफूलाई पद र सम्मानभन्दा दर्शकको माया ठूलो हुने बताइन् । ‘काम सुरु गर्दा महानायिका हुन्छु र पद पाउँछु भनेर गरेको होइन । यो देशमा उपधिको कुनै औचित्य छैन’ गौरीले भनिन्, ‘विभिन किमिसको उपाधिले मान्छेहरुलाई सिंगारेको देख्छु । मलाई उपाधि चाहिँदैन । हामीलाई श्रम गर्र्ने मौका दिनूस । पदभन्दा दर्शकको माया र स्नेह नै माथि छ ।’

हालैको एक टिभी कार्यक्रममा करिश्मा मानन्धरलाई भुवन र राजेश हमालमध्ये कसलाई रोज्नुहुन्छ भनेर सोधिएको थियो । जवाफमा करिश्माले हमाललाई छनौट गरेकी थिइन् । अर्कोतर्फ, भुवन र राजेशबीच पहिलेदेखि नै महानायक इस्युमा मतभिन्नता छ ।

भुवनले यस्तो जवाफमा दिनुलाई अस्वभाविकरुपमा लिन मिल्दैन । बस्नेत निर्देशित फिल्म डाँडाको बरपीपलमा भुवन र शिवले दशकपछि सहकार्य गरेका छन् । उक्त फिल्मको एउटा गीत लन्च कार्यक्रममा गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर