आजदेखि ११ दिनसम्म भेरोसेलको पहिलो मात्रा लगाउन सुरु, दोस्रो डोज कात्तिक ४ गतेदेखि – Nepal Press

आजदेखि ११ दिनसम्म भेरोसेलको पहिलो मात्रा लगाउन सुरु, दोस्रो डोज कात्तिक ४ गतेदेखि

दश जिल्लामा १८ वर्षभन्दा माथिकालाई पनि खोप लगाइँदै

काठमाडौं । आजदेखि देशभर ११ दिनसम्म भेरोसेल खोपको पहिलो डोज लगाउन सुरु गरिएको छ । यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो डोज कार्तिक ४ देखि १४ गतेसम्म लगाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दश हिमाली जिल्लाहरु ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिकालाई पनि खोप लगाउन सुरु गरिएको छ ।

त्यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप दिइने भएको छ ।

बाँकी ५८ जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

त्यसबाहेक यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा भेरोसेलको दोस्रो डोज खोप लगाइदै

आजदेखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइदै छ । पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार जनालाई भेरोसेलको दोस्रो मात्रा लगाइने छ । जिल्ला स्वास्थ्य मन्त्रालयका अनुसार आजदेखि तीन दिनसम्म खोप लगाइने छ । काठमाडौँ जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । तीन दिन दोस्रो डोज लगाएपछि पहिलो डोज लगाउन सुरु हुनेछ । हिलो मात्रा भने काठमाडौँमा एक लाख व्यक्तिलाई मात्र लगाइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर