इन्द्रदह मेला आज, सिद्धपोखरीमा भक्तजनको भीड – Nepal Press

इन्द्रदह मेला आज, सिद्धपोखरीमा भक्तजनको भीड

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखि मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

देवराज इन्द्रले स्नान गरेको दह हुनाले आजको दिन इन्द्र दहको स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पूण्यप्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास छ ।

हरेक वर्ष इन्द्रजात्राका दिन भक्तपुरको खौमा टोलस्थित इन्द्रायणी देवीको मूर्तिलाई खटमा राखी जात्रा गरेर इन्द्रदहमा ल्याई विराजमान गराई तान्त्रिक विधिपूवक पूजा र भोगबली चलाउने परम्परा रहेको छ । यसबेला परम्परागत बाजागाजाका साथ दाफा र भजन गाउने प्रचलन छ ।

दहमा लिच्छविकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्ति छन् । अनावृष्टि हुँदा दहमा आई वासुकी नागलाई पूजा गर्ने र जल वृष्टिका लागि तान्त्रिक पूजा गर्ने प्रचलन रहेको छ ।

आजको दिन दहको पूर्वपट्टि दिशामा अवस्थित शिवलिङ्गमा जल चढाई पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर