नेपालले ओमानलाई १२१ रनमा समेट्यो, सन्दिप र करणको घातक बलिङ – Nepal Press

नेपालले ओमानलाई १२१ रनमा समेट्यो, सन्दिप र करणको घातक बलिङ

काठमाडौं । ओमानले विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालसामु १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ । करण केसी र सन्दीप लामिछानेले घातक बलिङ गर्दै चार/चार विकेट लिएपछि अल अमेरत क्रिकेट मैदानमा ओमान १२१ रनमा अलआउट भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको ओमानविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि करण केसीले ओमानी दुवै ओपनरलाई चाँडै पेभेलियन फर्काए । वान् डाउनमा क्रिजमा उत्रिएका आयान खानलाई पनि उनले दोहोरो अंकमा रन बनाउन दिएनन् ।

करणले ओमानका लागि १३ बलमा १३ रन बनाएका ओपनर जतिन्दर सिंहलाई आशिफ शेखको हातबाट क्याच आउट गराएका थिए । यस्तै १६ बलमा ४ रान जोडेका अर्का ओपनर सुफियान मेहमुदलाई सुशन भारीको हातबाट क्याच आउट गराए ।

१८ बलको सामना गरेर तेस्रो विकेटको रूपमा पेभेलियन फर्केका आयान करणकै बलमा बोल्ड भएका थिए । स्टार स्पिनर सन्दीपले ११औं ओभरमा आफ्नो पहिलो ओभरमै मोहम्मद नदिमलाई आउट गरे । उनले नदिमलाई एलबीडब्लूको शिकार बनाएका थिए । त्यसपछि १३औं ओभरमा लगातार दुई विकेट लिएका सन्दीपले ओमानका सुरज कुमार र नेस्टोर धाम्बाललाई शुन्यमा पेभेलियन फर्काएका थिए । सुरज बोल्ड आउट भएका थिए भने धाम्बा एलबीडब्लूमै परेका थिए ।

नेपालका लागि सातौं विकेट शृंखलामा पहिलो खेल खेलिरहेका शरद भेसावकरले दिलाएका थिए । शरदले २७ बल खेलेर ८ रन जोडेका ओमानका सन्दीप गौदलाई सुशन भारीको हातबाट क्याच आउट गराएका थिए । आठौं विकेटको रूपमा पुनः भेसावकरले नशिम कुशीलार्य कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । कुशीले ओमानका लागि २७ बलमा १२ रन जोडेका थिए ।

शृंखलाको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपालले त्यसपछि लगातार दुई खेलमा पराजय बेहोरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेट र दोस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित नेपालको यो शृंखलामा यो अन्तिम खेल हो ।

नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षको पदबाट राजीनामा दिइसकेका डेभ वाटमोरको नेतृत्वमा नेपालले खेलेको यो अन्तिम खेल हो । गत चैतमा नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका वाटमोरले पारिवारिका कारण देखाउँदै नेपाल बसाई लम्ब्याउन नसक्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *