सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्छ : विमलेन्द्र निधि – Nepal Press

सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्छ : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघियताको सम्वद्र्धनका लागि सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्ने बताएका छन् ।

आइतबार महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको वर्तमान राजनीतिक अभ्यास र संविधान विषयक कार्यक्रममा बोल्दै उपसभापति निधिले संघियताको सम्वद्र्धनका लागि सातवटै प्रदेशको आफ्नो प्रहरी संगठन हुनुपर्ने बताएका हुन् ।

संविधानमा नै सबै प्रदेशको आफ्नै प्रहरी हुने व्यवस्था भएपनि हालसम्म संविधानको सो व्यवस्था कार्यान्वयन हुन नसकेको उजले बताए । संघीयताको सम्वद्र्धनका लागि पहिलो, दोस्रो र तेस्रो प्राथमिकता सबै प्रदेशका प्रहरी संगठन बनाउनुपर्नेमा जोड दिए ।

उनले भने,‘सातै प्रदेशमा, सबै प्रदेशको आ–आफ्नो प्रादेशिक प्रहरीको व्यवस्था तत्काल होस् । अब त चार वर्ष भइसक्यो चुनाव भएको पनि । संविधानको कुनै एउटा धारामा पनि के लेखेको छ भने सबै प्रदेशको आ–आफ्नै प्रहरी संगठन हुनेछ । म आज संविधान दिवसको अवसरमा भन्न चाहान्छु, आजको आवश्यकता संघीयतालाई सम्वद्र्धनको लागि पहिलो प्राथमिकता सबै प्रदेशको प्रहरी, दोस्रो प्राथमिकता सबै प्रदेशको प्रहरी, तेस्रो प्राथमिकता सबै प्रदेशको प्रहरी ।’

उपसभापति निधिले नेताहरुले नै संघियता अनुकुलको मानसिकता बनाउन नसकेको टिप्पणी गरे । नेताहरुमा टोलको अधिकार पनि सिंहदरबारबाट सम्पादन गर्ने मानसिकता रहेको भन्दै उनले नेताहरुले संघीयताको बारेमा जनतालाई प्रशिक्षित गर्ने र आफुपनि प्रशिक्षित हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर