असोज पहिलो साता सरकार विस्तार हुन्छ, हामी एमसीसीविरुद्ध छैनौं : प्रचण्ड (भिडिओ) – Nepal Press

असोज पहिलो साता सरकार विस्तार हुन्छ, हामी एमसीसीविरुद्ध छैनौं : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् । आज जनकपुरमा नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले असोज ४/५ गतेभित्र सरकारले पूर्णता पाउने बताए ।

सरकार विस्तार बाहिर हल्ला भएजस्तो जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीका कारण नअड्किएको दावी गरे ।

प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)भन्दा महत्वपूर्ण पाँच दलीय गठबन्धन रहेको उल्लेख गर्दै उनले आफूहरूका लागि एमसिसीभन्दा गठबन्धन नै महत्वपूर्ण रहेको बताए । उनले भने, “लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो । एमसिसीका कारण गठबन्धन फुट्दैन ।”

उनले आफूहरू एमसिसीविरुद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र एससिसी पास गर्नुपर्नेमा जोड दिए । अघिल्लो सरकारका अर्थमन्त्रीले एमसिसी बिगारेका कारण पछिल्लो अवस्था सिर्जना भएको ‘प्रचण्ड’को भनाइ थियो । उनले एमसिसीमा परिमार्जन र संशोधन गरेर राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढाउन सकिने बताउँदै यसको लागि हतार गर्न नहुने बताए । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर