परिवार नियोजन सङ्घद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/09/IVF.jpg)
काठमाडौं । नेपाल परिवार नियोजन सङ्घले नि: सन्तान दम्पतीका लागि ‘आइभिएफ’ क्लिनिक सञ्चालनमा ल्याउने भएको छ । विशेष गरी आइभिएफ प्रविधि भन्नाले महिलाको डिम्बमा शुक्रकिट राखी गर्भधारण गराउने प्रक्रियालाई बुझाउँदछ ।
यसका लागि पुल्चोकस्थित सङ्घको केन्द्रीय कार्यालयमा आवश्यक तयारी गरिएको छ । नेपाली स्त्रीरोग विशेषज्ञसहित भारतीय विशेषज्ञले क्लिनिकल सेवा प्रदान गर्नेछन् । यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यका क्षेत्रमा उपचारात्मक तथा प्रवद्र्धनात्मक दुवै सेवा प्रदान गरिराखेको सङ्घले स्थापनाको ६३ वर्षपछि पहिलोपटक सो क्लिनिक सञ्चालनमा ल्याउन लागेको हो ।
सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले भने- ‘सङ्घले प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक सबै प्रकारका क्लिनिकल सेवा प्रदान गरिराखेको छ, बाँकी रहेको ‘आइभिएफ’ क्लिनिक यही बडा दशैँपछि सञ्चालनको तयारी गर्दैछौँ, यसका लागि आवश्यक जनशक्तिलाई तालिम प्रदान गरिसकेको छौँ, हाम्रो सेवा सस्तो हुनेछ, यो सेवा असाहय, विपन्नका लागि नि:शुल्क हुनेछ ।’
हाल निजी क्षेत्रका केही अस्पतालले तीन लाखभन्दा बढी शुल्क लिएर सो सेवा प्रदान गरिराखेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विवाहिता दम्पतीमध्ये २० प्रतिशतमा नि:सन्तान हुने समस्या रहेको छ ।
तत्कालीन स्वास्थ्य सहायकमन्त्री द्वारिकादेवी ठकुरानीका नेतृत्वमा स्थापित सङ्घले महिलामा महिनावारी सुकेपछि देखा पर्ने हर्मोन समस्यालाई सम्बोधन गर्न पुल्चोकमा नै पहिलोपटक क्लिनिकल सेवा दिने तयारीसमेत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा लामो समय सेवा गरेका केसीले भने, ‘महिलामा महिनावारी सुकेपछि हार्मोन डिसअडर हुन्छन्, यसबाट विभिन्न समस्या उत्पन्न हुन्छन्, यसलाई समयमै सम्बोधन गर्नु आवश्यक हुन्छ, यस्ता समस्यालाई निधान गर्न क्लिनिकल सेवाले सहयोग गर्छ ।’
हाल सङ्घले विभिन्न ४३ जिल्लाका ३०१ पालिकामा रहेका क्लिनिकमार्फत यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवद्र्धनात्मक सचेतना प्रदान गरिराखेको छ ।
कोभिड-१९ को महामारीका बीचमा पनि सङ्घले आफ्नो सेवालाई निरन्तर जारी राख्दै एचआइभी सङक्रमित, अपाङ्गता, विकट, सीमान्तकृत तथा सेवा सुविधाबाट वञ्चित समुदायमा आफ्नो सेवा पुर्याइरहेको जनाएको छ ।
रासस