ट्राई नेसन सिरिजमा नेपालको लगातार दोस्रो हार – Nepal Press

ट्राई नेसन सिरिजमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । विश्व कप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालले लगातार दोस्रो पराजय भोगेको छ । ओमानमा जारी शृंखलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो ।

अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा १ स ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट मात्रै गुमाएर पूरा गर्‍यो । अमेरिकाका लागि स्टेभन टेलरले सर्वाधिक ९२ रनको योगदान गरे । ६३ बलको सामना गरेका टेलरले १२ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यस्तै मोनांक पटेलले ३८ तथा जसकरण कृष्णमुर्तीले ३७ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए ।

पहिलो इनिङमा कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको थियो ।

मध्यम सुरुआत गरेको नेपालको माथिल्लो मध्यक्रमदेखि टेल इन्डर्ससम्म कोही पनि नचल्दा ४८ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल तयार गरेको थियो ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि वान् डाउनमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।

राष्ट्रिय टोलीमा डेब्यूट्यान्ट गुल्शन झासँग ५१ रनको साझृदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्त्वपूर्ण ५० रन पूरा गरे । ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए ।

त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्यूट्यान्ट गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे । त्यस्तै कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे ।

अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १/१ विकेट लिए ।

सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको नेपालले लगातार दोस्रो हार बेहोरेको हो ।

शृंखलाको अन्तिम खेलमा नेपालले आइतबार ओमानसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *