ढुक्क हुनुस्, महाधिवेशनमा देउवा र निधि एउटै टिममा रहनुहुन्छ: विश्वप्रकाश शर्मा – Nepal Press
नेपाल टक

ढुक्क हुनुस्, महाधिवेशनमा देउवा र निधि एउटै टिममा रहनुहुन्छ: विश्वप्रकाश शर्मा

काठमाडौं । भदौ २४ गते वीपी जयन्तीको सन्दर्भ पारेर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महामन्त्री पदको उम्मेदवारी घोषणा गरे । कांग्रेसको भातृसंगठत नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष रहिसकेका शर्मा बौद्धिक र वाककला भएका नेताका रुपमा चिनिन्छन् ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशन, शर्माको उम्मेदवारी र एजेण्डाबारे गरिएको कुराकानी प्रस्तुत छ, नेपाल टकमा:

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेयता कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

उम्मेदवारी घोषणाका पछाडि देशभरीबाट सकारात्मक प्रतिक्रिया पाएको छु । विभिन्न जिल्लाका साथीहरुले राख्नुहुने मत, नेतृत्वबाट पाएको शुभेच्छा र अब विश्वप्रकाश मैदानमा आयो भनेर दिइएका संकेतहरुले मलाई उत्साही बनाएको छ । महामन्त्रीको उम्मेदवार बनिसकेपछि असोज ३ गते संविधान दिवसको अवसर पारेर आफ्नै गृहजिल्ला, मेरो कर्मभूमि झापाबाट राजनीतिमा परिवर्तनबारे आफ्नो विचार र प्रस्ताव सार्वजनिक गर्दैछु ।

उम्मेदवारी घोषणाका लागि हामी कांग्रेसजनलाई प्रेरित गर्ने जननायक वीपी कोइरालाको जन्मदिनको मिति मैले रोजेको थिएँ । उम्मेदवारी घोषणाका लागि वीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, योगेन्द्रमान शेरचन, रामनारायण मिश्र लगायतका नेताहरु थुनिएको सुन्दरीजलमा पुगेको थिएँ । अब राजनीतिमा परिवर्तन जरुरी छ भने त्यसबारे मेरो धारणा आफ्नै जन्मभूमि झापाबाट सार्वजनिक गर्दैछु । त्यसका लागि यो देशले ७० वर्षको सपना पूरा गर्दै संविधान निर्माण गरेको असोज ३ गतेको मिति रोजेको छु ।

महामन्त्रीको उम्मेदवारका रुपमा उत्साहित त देखिनुभयो तर उम्मेदवारी घोषणा अलि हतारोमा भयो, टिमभित्र सल्लाह नगरी भयो भन्ने सुझाव आएन ?

म कांग्रेसको प्रवक्ता भइसकेपछि धेरै मित्रहरुले अब कुन पदमा उम्मेदवार बन्ने ? भन्ने प्रश्न सोध्नुभयो । तपाईजस्तै पत्रकार मित्रहरु र पार्टीका धेरै साथीहरुले सोधेको बेला उत्तर दिनुपर्छ भन्ने धेरै साथीहरुलाई लागेको थियो । केही साथीहरुले १-२ वर्ष अगाडि पनि घोषणा गर्नुभएको छ । त्यसलाई पनि सकारात्मक रुपमा लिनुपर्छ । मंसिरको ९ गतेबाट महाधिवेशन हुने, वडा अधिवेशन सुरु भइसकेको अवस्थामा भदौ २४ जस्तो महत्वपूर्ण मितिमा नभनेर अरु दिन किन प्रतीक्षा गर्ने ? त्यसैले मेरो उम्मेदवारी हतारोमा पनि होइन, ढिलो पनि होइन ठीक समयमा आएको छ भन्ने लाग्छ ।

तर एक्लो उम्मेदवारी घोषणा गर्दा तपाईंकै टिमका नेताहरुले पनि अलि हतार भयो कि भनेका छन् नि ?

सञ्चारमाध्यमकै साथीहरुले राजनीतिक दलभित्र गुटबन्दी बढी भयो पनि भन्नुहुन्छ । फेरी कसैले उम्मेदवारी घोषणा गरेपछि पनि खोइ गुट भनेर सोध्नुहुन्छ । यी दुवै कुरामा आ-आफ्ना तर्क होलान् । पुरै प्यानलका साथ उम्मेदवारी घोषणा गर्ने भनेको गुटकै कुरा हो ।

महाधिवेशनको प्रतिस्पर्धा प्यानलगत हुने कुरा स्वभाविक पनि हो । तर अहिलेलाई विश्वप्रकाशले उम्मेदवारीबारे बोलेको थिएन, बेला आएपछि बोल्छु भन्यो, अलि पछि प्रवक्ताबाट रिटायर्ड हुन राजनीति गरेको होइन पनि भन्यो । अब अहिले आएर मैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छु । उम्मेदवारी घोषणा गरेपनि म गाँसिएको विचार समूह छँदैछ ।

प्यानल बन्ने कुरा सभापतिको उम्मेदवारमा भर पर्छ । अब महामन्त्रीको उम्मेदवारले नै प्यानल बनाउने पनि होइन । मेरा विचार साथीभाईमा लैजानका लागि पनि उम्मेदवारी घोषणा गर्नुपथ्र्यो । म अघिल्लो महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति जिताउन लागेकै हो । १३ औं महाधिवेशनभन्दा अगाडि नै म शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको विचार समूहमा छु । यो विचार समूहको प्यानल पनि घोषणा हुने नै छ ।

विचार समूहको नेतृत्व देउवाले गरे पनि तपाईंको उम्मेदवारी घोषणा विमलेन्द्र निधिको टिमबाट लड्नका लागि हो भन्छन् नि ?

त्यस्तो होइन । सभापतिमा संस्थापनबाहिर ४-५ जना हुनुहुन्छ । हाम्रो समूहमा २ जनाले भन्नुभएको छ । यो उत्तर मैले पार्टी प्रवक्ताभन्दा पनि महामन्त्रीको उम्मेदवारको रुपमा दिदैंछु । म निकट रहेको विचार समूहमा शेरबहादुर देउवा र विमलेन्द्र निधिले सभापतिमा दावी गर्नुभएको छ ।

उपसभापति निधिजीले प्यानल बनाउने बारेमा मलाई पनि समेट्न खोज्नु मेरा लागि खुसीकै कुरा हो । उहाँले सार्वजनिक रुपमै विश्वप्रकाशलाई पनि समेट्छु भन्नुभएको रहेछ । उहाँले प्यानल बनाउने विषयमा विभिन्न साथीभाईसँग सल्लाह गर्ने क्रममा मसंग पनि गर्नुभयो होला । सभापतिमा दावी गर्दा निधिजीले सबैसंग सल्लाह गर्नु, मलाई पनि उपयुक्त देख्नु उहाँको विषय हो । त्यसमा म उहाँलाई धन्यवाद दिन्छु । तर जहाँसम्म मेरो उम्मेदवारीको विषय छ म बल्ल महामन्त्रीको उम्मेदवार बनेर प्रस्तुत भएको छु । हाम्रो विचार समूहले बसेर छलफल गरेर समग्र टिमबारे निर्णय लिने नै छ ।

तर तपाईंले पनि को सभापति रहेको कांग्रेसको महामन्त्री बन्न खोजेको हो प्रष्ट पार्नुपर्छ नि ?

मैले मात्रै होइन, हाम्रो टिमले बसेर यसबारे छलफल गर्छ । उपयुक्त समयमा हामीले साझा निर्णय लिन्छौं । हाम्रो टिम एकतावद्ध भएर अगाडि बढ्छ ।

अहिले शेरबहादुर देउवा र विमलेन्द्र निधि एउटै टिममा हुनुहुन्छ र ?

देशभरका साथीभाई ढुक्क भए हुन्छ । हाम्रो टिम एक हुन्छ । शेरबहादुर देउवा र विमलेन्द्र निधि आगामी महाधिवेशनमा एउटै टिममा रहनुहुन्छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले एकपटक सभापति दोहोरिन्छु भन्नुभएको छ ।

कतिपयले कति वर्षदेखि शेरबहादुर देउवाको नेतृत्व भइरहने भनेर सोध्दै हुनुहुन्छ । तर उहाँ सभापति भएको त ५ वर्ष न भयो । धेरै भएको पनि छैन । उहाँले दोहोर्याउँछु भनेपछि पार्टीका उपसभापति, महामन्त्री र अन्य नेताहरु बसेर छलफल त हुन्छ नि । छलफलका क्रममा नेतृत्व साझा बनाउने निष्कर्ष निस्केला । उहाँले लड्ने भन्दै गर्दा अन्य नेताहरुसहित टिम पनि बन्ला । उहाँले छोड्ने भन्ने कुरा भए त्यहीँ होला ।

त्यतिबेला विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का जसको पनि नेतृत्व रहन सक्ला । हाम्रो समूहका धेरै साथीहरुको मतलाई गाँसेर निर्णय हुन्छ । त्यतिबेला मात्रै मैले सबै कुरा भन्न सक्छु ।

भनेपछि सभापति जो होला, महामन्त्री विश्वप्रकाश नै हो भन्नेमा स्पष्ट हुनुहुन्छ ?

प्यानल बन्दै गर्दा विश्वप्रकाश शर्मा महामन्त्रीको उम्मेदवारको रुपमा रहनुपर्छ भन्ने एकखालको मनोविज्ञान ग्रासरुटदेखि नै देखिन्छ । युवाहरुको खोजी पार्टीमा छ । म पार्टीको प्रचार विभागको प्रमुखका रुपमा काम गर्दा पार्टीको पद्दतिलाई डिजिटलाइज्ड गरेको हिसाबले पनि पार्टीभित्र युवा मतदाताहरु निर्णायक भएको पाएको छु । तलदेखि नै युवाहरुको मत र तथ्यांक हेर्दा, म आफूलाई युवा दावी गर्दिन तर तुलनात्मक रुपमा पाका नेताहरुको छेउमा फेरी युवा हो भन्ने मानिन्छ ।

तर तपाईं त उमेरले होइन एजेण्डाले नेता हुनुपर्छ भन्नुहुन्थ्यो नि ?

त्यो त हो । अहिले पनि भन्छु नि । कसैले कांग्रेसको नेतृत्व गर्न विश्वप्रकाशको उमेर पुग्दैन भन्छ भने मेरो एज होइन एजेण्डा हेर्नुस भन्छु नि ।

तपाईंको एजेण्डालाई शेरबहादुर देउवाको उमेरले हाँक्न सक्छ त ?

उमेरको सन्दर्भमा असोज ३ गते झापामा मैले आफ्नो धारणा राख्छु । राजनीतिक दलमा उमेरबारे कस्तो धारणा हुनुपर्छ भन्नेमा म असोज ३ मा सूत्र प्रस्ताव गर्छु । तर उमेर यति पुगेपछि छोड्नुपर्छ भन्ने म मान्दिनँ । मैले प्रस्तावित गर्ने सूत्रले पार्टी र सरकारबारे उमेरसम्बन्धी प्रश्नको हल दिन्छ । त्यसबाट बस्ने प्रणालीले नै सबै समाधान दिन्छ ।

प्रश्न उमेरको मात्रै होइन, विश्वप्रकाशको पुस्ताले शेरबहादुर देउवाको पुस्तालाई अगाडि लाएर किन हिँडिरहेको छ भन्ने पनि होला नि ?

कोही कसैको पछि लाग्ने कुरा होइन । सहयात्राको कुरा हो । सभापतिको उम्मेदवारको पछाडि महामन्त्री लागिरहेको हुँदैन । महामन्त्रीको उम्मेदवारको पछाडि सहमहामन्त्री लागिरहेको हुँदैन । हामी एउटै यात्राको सहयात्री भएर गइरहेका हुन्छौं । तर टिम क्याप्टेनको भूमिका चै सभापतिले निर्वाह गर्नुहुन्छ । त्यसकारणले कुन उमेर समूहले कुन तहको नेतृत्व गर्ने भन्ने सैद्धान्तिक उत्तर हुँदैन । व्यवहारतः परिस्थिति बमोजिम आफैं निर्धारण हुन्छ ।

महामन्त्रीको उम्मेदवारका रुपमा उभिदै गर्दा आज तपाईंले पाएको भूमिकालाई कत्तिको न्याय गर्नुभयो त ?

नेपाली कांग्रेसका समर्थकहरुलाई थाहा छ, झण्डै एक दर्जन साथीहरुले महामन्त्रीका रुपमा पार्टी हाँक्न तयार रहेको बताउनुभएको छ । कांग्रेसको महामन्त्री बन्नका लागि एकसे एक योग्य साथीहरु पार्टीमा हुनुहुन्छ । मेरो विचारमा महामन्त्रीले गर्ने ३ वटा महत्वपूर्ण काम छन् । दुईवटा आन्तरिक संगठनात्मक काम हुन् भने अर्को सार्वजनिक वैचारिक कुरा हो ।

कांग्रेसमा २ जना महामन्त्री हुन्छन् र उनीहरुको कार्यविभाजन पछि होला । मेरो हकमा कांग्रेसको महामन्त्री हाँक्नसक्ने व्यवस्थापकीय क्षमता मसंग छ । त्यस्तो क्षमता मैले पढेर मात्रै होइन, नेपाल विद्यार्थी संघको अध्यक्षका रुपमा काम गरेर हासिल गरेको हुँ । पार्टीको महत्वपूर्ण भ्रातृसंस्थालाई सही ढंगले नेतृत्व गरेको हुँ । २ वर्षको कार्यकाल नपुग्दै प्रतिकुल अवस्थामा पनि महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरेको हुँ । त्यो क्षमता पर्याप्त नहोला तर नेविसंघमा हासिल गरेको क्षमता पार्टीको महामन्त्री हुँदा पनि काम लाग्छ । देशभरका साथीहरुले यो तथ्य बुझ्नुहुन्छ भन्ने ठानेको छु ।

अघिल्लो संसदीय निर्वाचन हारेपछि तपाईंसहित कांग्रेसका युवा नेताहरुले हामी बदलिन्छौ, कांग्रेस बदल्छौ भन्नुभएको थियो । कति बदलिनु भयो, कति बदल्नुभयो ?

अहिले म रहेको जिम्मेवारीमा रहेर कांग्रेसलाई डिजिटलाइज्ड बनाउने काम गरेको छु । मैले मेरो भूमिका प्रवक्ता र प्रचार विभाग प्रमुखका रुपमा निर्वाह गर्ने हो । कांग्रेस रुपान्तरणका लागि दर्जनौ काम गर्नुपर्ने हुन्छ । त्यसमध्ये प्रचार विभागको प्रमुखका रुपमा १ वर्ष यता पार्टीलाई प्रविधियुक्त बनाएका छौ । अहिले भौतिकरुपमा महाधिवेशन हुनसक्ने अवस्था रहेन भने डिजिटल भोटिङबाट महाधिवेशन गर्नसक्ने प्रविधि र क्षमता प्रचार विभागले राख्छ । मलाई लाग्छ, राजनीतिक दलभित्र यति प्रविधियुक्त पार्टी कांग्रेसबाहेक छैन । साथै अहिले हामीले ‘एनसी विन’ भन्ने अभियान थालेका छौ । वाइड इन्फरमेसन नेटवर्कबाट पार्टीको सर्कल बनाउँदै छौं । यसले कसैको आलोचना गर्ने होइन, पार्टीको हितमा काम गर्नेछ ।

कुनै बेला युवा नेताहरुको समूह बनाउनुभयो र प्रवक्ताको अवसर पाएपछि साथीहरुलाई धोका दिनुभयो भन्ने आरोप छ । के भन्नुहुन्छ ?

यो विल्कुलै गलत कुरा हो र ३ वर्ष पुरानो कुरा हो । कांग्रेसमा युवा नेताहरुको कुनै गुट छैन । हामीले सभापति, उपसभापति, महामन्त्री हुनेगरी कुनै समूह बनाएका होइनौं । हामीले त्यतिबेला निर्वाचन हारेका थियौं । पुस १६ को मेलमिलाप दिवसको सन्दर्भ थियो । हामी केही साथीहरु छलफल गरेर एउटा अवधारणमा सल्लाह गरेका हौं । तितामिठा बिर्सेर पार्टीलाई एकतावद्ध बनाउने र पार्टीलाई बलियो बनाउने प्रतिवद्धता हामीले व्यक्त गरेका हौं । त्यतिबेला हाम्रो साझा आह्वानको मुख्य २ उद्देश्य थिए । केन्द्रीय समिति र महासमितिको बैठक बोलाउने । त्यो उद्देश्यमा हामी सफल भयौं । त्यसबाहेक केही भएको छैन, कसैलाई धोका दिएको छैन ।

अन्तिममा पार्टी सभापतिकै जिल्लामा सत्ताको दुरुपयोग गरेर अधिवेशन गरियो भन्ने आरोप कांग्रेसकै नेताहरुले लगाउनुभएको छ । आफ्नै जिल्लामा प्रहरी लगाएर अधिवेशन गर्नुपर्ने अवस्था सभापतिलाई किन आइपर्यो ?

तपाईंले भनेजस्तो चर्चा परिचर्चा मैले पनि सुनेको छु । तर सभापतिले अधिवेशन गराउने होइन । अधिवेशन गराउने केन्द्रीय निर्वाचन समितिले हो । त्यहाँ सबै विचार समूहका साथीहरु हुनुहुन्छ । क्रियाशील सदस्यताको विवाद हेर्ने समितिमा पनि सबै विचार समूहका साथीहरु हुनुहुन्छ । एउटा निर्णयमा पुग्ने र त्यसमै अल्मलिने काम भएको छ । जहाँसम्म डडेल्धुराको कुरा छ त्यसबारे पार्टीभित्र छलफल भइरहेको छ । निर्णयको साझा स्वामित्व कायम गरेर जानुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर