सरकारले विज्ञान कूटनीतिलाई अघि बढाउने, आज विदेशी राजदूतहरुसँग परामर्श गर्दै – Nepal Press

सरकारले विज्ञान कूटनीतिलाई अघि बढाउने, आज विदेशी राजदूतहरुसँग परामर्श गर्दै

काठमाडौँ । सरकारले विज्ञान कूटनीति (साइन्स डिप्लोमेसी)र्लाइ अघि बढाउँदै विज्ञान र प्रविधिमा लगानी भित्र्याउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञानको विकास विस्तारका लागि विज्ञान कूटनीतिमार्फत लगानी भित्र्याउने योजना अघि सारेको हो ।

मन्त्रालयले नेपालस्थित विदेशी राजदूतहरूमार्फत यो योजना कार्यान्वयन गर्ने तयारी गरेको छ । मन्त्रालयका सचिव सुरेश आचार्यले मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी ल्याउन साइन्स डिप्लोमेसीमार्फत अघि बढ्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

सरकारले काठमाडौंस्थित विदेशी मिसनका दूतहरुलाई यसबारे जानकारी गराउने भएको छ । “लगानीले उत्पादन बढाउँछ, जनताको जीवनस्तर सहज हुन्छ त्यसैले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ,” सचिव आचार्य भने । उदीयमान क्षेत्रमा लगानी ल्याउन सकिने अवस्था रहेको सचिव आचार्यको भनाई छ । असोज १ गते विज्ञान दिवसको अवसरमा राजदूतसँग परामर्श गर्ने भएको छ ।

मुलुकमा साइन्स डिप्लोमेसी नयाँ प्रयोग भएकोले यसले आकार लिन केही समय लाग्ने अधिकारीहरुको भनाई छ । गत वर्षको विज्ञान दिवसदेखि साइन्स डिप्लोमेसीको चर्चा यहाँ हुन थालेको हो ।

‘विज्ञान र प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराको साथ आज मुलुकमा विज्ञान दिवस मनाइँदैछ । विज्ञान र प्रविधिका क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र नवप्रवर्तनीय खोजमूलक विषयको प्रचारप्रसार गरी आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले विज्ञान दिवस मनाउन लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्रवक्ता एवं सहसचिव दीपक शर्माले जानकारी दिए ।

सरकारले यसपटक विज्ञान दिवसलाई सप्ताहव्यापी रूपमा मनाउन लागेको छ । विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गर्ने, विज्ञान प्रविधि अध्ययन अनुसन्धानमा संलग्न शिक्षक तथा विद्यार्थीलाई आकर्षित गर्ने मुख्य उद्देश्यले यो दिवस मनाउन लागिएको जनाइएको छ ।

मन्त्रालयले आजै विज्ञान पत्रकारिता, एरोटोनिकल प्रविधि, अन्तरिक्ष प्रविधि, जैविक प्रविधि, उदीयमान प्रविधि र विपत् न्यूनतमसम्बन्धी प्रविधि पुरस्कार प्रदान घोषणा समेत गर्ने भएको छ । गरिने जनाइएको छ । २०७० साल असोज १ गतेदेखि राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर