ऐन महर अनेरास्ववियूबाट बिदा हुँदै- अध्यक्षमा चारजनाको दाबेदारी, समिक महासचिव – Nepal Press

ऐन महर अनेरास्ववियूबाट बिदा हुँदै- अध्यक्षमा चारजनाको दाबेदारी, समिक महासचिव

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व परिवर्तन हुने भएको छ । राष्ट्रिय सम्मेलनबिनै अनेरास्ववियूको नेतृत्व फेरिन लागेको हो ।

अनेरास्ववियूका वर्तमान अध्यक्ष ऐन महर पार्टीको एमालेको प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय कमिटीमा लैजाने आश्वासन नेतृत्वबाट पाएपछि अखिल छाड्न तयार भएका छन् ।

महर अनेरास्ववियूको २२ औं राष्ट्रिय सम्मेलनबाट महासचिव निर्वाचित भएका थिए । ५ वर्षअघि भएको सम्मेलनबाट अध्यक्षमा निर्वाचित नविना लामा नेकपा एकीकरणसँगै अखिलबाट बिदा भएकी थिइन् ।

एकीकृत अखिलको संयोजक महर र सहसंयोजक रन्जित तामाङ थिए । नेकपा एकता बदरपछि पनि महर अध्यक्ष निरन्तर रहे । सम्मेलनको हिसाबले ऐन महरले आफ्नो कार्यकाल पूरा गरिसकेकाले उनलाई बिदा गरेर जाम हुन लागेको नेतृत्व खुलाउन खोजिएको एमाले स्रोतले जनाएको छ ।

अनेरास्ववियूका पूर्वअध्यक्ष तथा हालका इन्चार्ज खिमलाल भट्टराईले शनिबार बस्ने सचिवालय बैठकले नयाँ नेतृत्व चयन गर्ने नेपाल प्रेसलाई बताए । उनका अनुसार नेतृत्वका आकांक्षीहरूबीच छलफल चलिरहेको छ ।

आज महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा अखिलको स्थायी कमिटी बैठक बसिरहेको छ । शनिबारको सचिवालय बैठकले अध्यक्षसहित पदाधिकारी र केन्द्रीय कमिटी टुंगो लगाउने भट्टराईले जानकारी दिए ।

अखिल अध्यक्षका लागि हालका उपाध्यक्षमध्ये शैलेस लामाबाहेक अन्यले आ-आफ्नो दावी छाडेका छैनन् । उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला र सुनिता बराल अध्यक्षका दाबेदार हुन् ।

त्यस्तै २२ औं सम्मेलनबाट निर्वाचित सचिव तथा प्रवक्ता आरसी लामिछाने पनि अध्यक्षको प्रतिस्पर्धामा छन् । एमालेका विद्यार्थी इन्चार्ज भट्टराईले यी चारजनामध्येबाट एकजना अध्यक्ष हुने र बाँकी उपाध्यक्षहरू संगठनबाट बिदा हुने बताए ।

अध्यक्षका अर्का दाबेदार समिक बडाललाई भने महासचिव बनाइने भएको छ । २३ औं राष्ट्रिय सम्मेलनबाट निर्विकल्प अध्यक्षका रूपमा बडाललाई खडा गर्न लागिएको अखिल स्रोतले जनाएको छ ।

अध्यक्षका दाबेदारमध्ये रश्मी आचार्य देशकै ठूलो पृथ्वीनारायण क्याम्पस पोखराका स्वतन्त्र विद्यार्थी यूनियनका सभापति हुन् । २०६५ सालमा उनी निर्वाचित भएपछि पिएनमा स्ववियू चुनाव भएको छैन ।

त्यस्तै महेश बर्तौला मकवानपुर बहुमुखी क्याम्पसका पूर्वस्ववियू सभापति हुन् भने सुनिता बराल एमालेको विद्यार्थी विशेष जिल्ला कमिटीकी सचिव पनि हुन् ।

पार्टी नेतृत्वको ग्रिन सिग्नल सुनितालाई रहेको चर्चा अखिलमा चलेको छ । यद्यपी उपाध्यक्षहरुबीच सहमतिको लागि छलफल भइरहेको भट्टराईले बताए ।

आरसी लामिछाने लामो समय विद्यार्थी आन्दोलनमा छन् । उनलाई अध्यक्ष बनाउन नसकिए वरिष्ठ उपाध्यक्ष बनाउनेबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।

अखिलका निर्वाचित सचिवमध्ये सुदेश पराजुली, आरती लामा र वसिम आलम नेकपा एसमा लागेका छन् । नयाँ पदाधिकारी चयनसँगै स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीमा केही सदस्य थपिने भएका छन् ।

माधव नेपाल समूह छाडेका र पूर्वमाओवादीबाट एकता प्रक्रियामा आएकासहितलाई समेटेर केन्द्रीय कमिटी बनाउन लागिएको हो । अध्यक्षमा सहमति जुटाउन नेताहरू अनौपचारिक छलफलमा छन् ।

२२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित कोषाध्यक्ष झपिन्द्र खत्रीसहित स्थायी कमिटीमा रहेका यमराज पाण्डे, नरेश रोकाय, कल्पना वाइबा, नारायण घर्ती, उमेश आचार्य, मर्यादा विष्टलगायतलाई उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्षसहितका पदाधिकारीमा व्यवस्थापन गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर