बाल मृत्युदर १० प्रतिशत र मातृ मृत्युदर २० प्रतिशतले घट्यो – Nepal Press

बाल मृत्युदर १० प्रतिशत र मातृ मृत्युदर २० प्रतिशतले घट्यो

काठमाडौें । नेपालमा परिवार योजनाको कार्यक्रमको प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्युदर र २० प्रतिशत मातृ मृत्युदर घटेको पाइएको छ । आठौँ राष्ट्रिय परिवार नियोजन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।

परिवार कल्याण महाशाखाका प्रमुख विवेककुमार लालले नेपालमा परिवार नियोजनको साधन प्रयोग गरेकाले मृत्युदर घटेको बताए । उनले गुणस्तरीय परिवार योजना सेवाको पहुँचले आमा र बच्चाको स्वास्थ्यमा मात्र नभई सामाजिक तथा विकास क्षेत्रमासमेत सकारात्मक प्रभाव पारेको बताए । सरकारले परिवार योजनामा एक रुपैयाँ खर्च गर्दा स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा ३.१ रुपैयाँ प्रतिफल हुने सरकारको परिवार नियोजन लागत कार्यान्वयन योजनाले प्रक्षेपण गरेको छ ।

सरकारले सबै तहमा स्वास्थ्य सेवा केन्द्र तथा गैरसरकारी संस्थाद्वारा सञ्चालित क्लिनिक र औषधि पसलमा गर्भनिरोधका स्थायी/अस्थायी साधन र सेवा उपलब्ध गराउँदै आएको छ । असुरक्षित यौन सम्पर्कका कारण अनिच्छित गर्भ रहने सम्भावना धेरै हुने, यस्तो अवस्थामा असुरक्षित गर्भपतन र असुरक्षित सुत्केरी हुने सम्भावन बढ्छ । यसबाट मातृ तथा शिशुको रुग्णता र मृत्यु हुने सम्भावना पनि बढी हुन्छ ।

परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख कविता अर्यालले कोभिड-१९ को महामारी र निषेधाज्ञाले परिवार नियोजन सेवाको पहुँच घट्न गई अनिच्छित गर्भ हुनेको संख्या बढेको बताए ।

यही असोज २ गते ‘कोभिड–१९ को महामारी : परिवार योजना सेवामा सबैको पहुँच बराबरी’ भन्ने आर्दश वाक्यका साथ दिवस मनाउन लागिएको छ । नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण–२०१९ अनुसार नेपालमा ४४ प्रतिशत मानिस परिवार नियोजन साधन प्रयोग गर्ने गर्दछन् । दिगो विकासको लक्ष्यअनुसार नेपालले सन् २०३० सम्ममा ६० प्रतिशत साधन प्रयोग गर्ने संख्या पु¥याउनुपर्ने हुन्छ ।

आधुनिक परिवार नियोजन साधनको प्रयोग दर सबभन्दा बढी ३५ देखि ४४ वर्ष उमेर समूहमा हुने गरेको छ । परिवार योजना ठिकसँग अपनाउन सकेको खण्डमा आमा, नवशिशु र बालस्वास्थ्यमा सुधार ल्याउन, आर्थिक सुधार गर्न, शिक्षा र रोजगारीको अवसर प्राप्त गर्न, एचआइभी सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।

हाल नेपालमा नौ वटा आधुनिक परिवार नियोजनको साधन/विधी उपलब्ध गराइँदै आइरहेको छ । सन् १९७६ देखि २०१९ को बीचमा परिवार नियोजन सेवाको प्रयोग दर २.९ देखि ४७ प्रतिशत बढेको र कूल प्रजनन दर ६.३ बाट २.० मा घटेको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर