बाबुरामले भेटे देउवा, प्रचण्ड र नेपाल, एमसीसी पास गर्नेलगायत पाँच सुझाव
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री लगायत शीर्ष नेताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्रीद्वय पुष्प कमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालसँग उनले आजै भेटघाट गरेका हुन् ।
पार्टीका नेता विश्वद्वीप पाण्डेका अनुसार भट्टराईले पाँच वटा विषयमा नेतात्रयलाई विभिन्न सुझाव दिएका थिए । राष्ट्रिय सहमति कायम गरेर एमसीसी पारित गर्नुपर्ने उनको सुझाव छ । अध्यादेशको विषयलाई छिटो छिनोफानो गरी सरकारलाई चाँडै पूर्णता दिन तथा प्रतिपक्षीसँग छलफल गरेर बजेट पारित हुने वातावरण बनाउन भट्टराईले आग्रह गरेका छन् ।
यस्तै, गठवन्धनका सबै प्रमुख दल र शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठवन्धनलाई संसदको पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।
जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठवन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने पनि भट्टराईले बताएका छन् ।