ओलीको प्रश्न- एमालेमा अब माधव नेपाललाई किन ल्याउने, फेरि पार्टी फुटाउन ?(भिडियाे) – Nepal Press

ओलीको प्रश्न- एमालेमा अब माधव नेपाललाई किन ल्याउने, फेरि पार्टी फुटाउन ?(भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको आवश्यकता अब पार्टीलाई नरहेको प्रष्ट पारेका छन् । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार्टीमा आउनुस् भन्ने नेताहरूलाई नै प्रश्न गरे ।

ओलीले भने, ‘अझै पनि हाम्रा केही कमरेडहरूले माधव कमरेड आउनुस् भन्दै हुनुहुन्छ । फेरि किन आउने ? फेरि पार्टी फुटाउन ? माधव नेपालको आवश्यकता किन ? म बुझ्दिन । पार्टीमा छइन्जले माधव नेपालले कहिल्यै पार्टी र सरकारको पक्षमा बोलेको सुन्नुभयो ?’

सोही कार्यक्रममा अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो गलत भएको भन्दै एमालेमै फर्किन आग्रह गरेकी थिइन् । ओलीले आफूले कसैको जवाफ दिन नचाहेको भन्दै बेला बेला यस्ता कुरा आउने गरेकाले जवाफ दिएको बताए ।

उनले भने, ‘आज कसैले यहाँ बोलेको रहेछ भने जवाफ दिएको जस्तो होला । तर, यो सवाल-जवाफ होइन । म घरमा थिएँ, कसैले बोलेको भए मैले सुनेको छैन । तर साथीहरुले बेला बेलामा भन्ने गरेका छन् । त्यसलाई जवाफ दिएको हो ।’

साढे ३ वर्षसम्म पार्टीमा गुटबन्दी गर्ने र पार्टीलाई सिध्याउने बाहेक कुनै काम नगरेको भन्दै ओलीले एमालेलाई सिध्याउन माधव नेपालले विपक्षीसँग साँठगाठ गरेको आरोप लगाए ।

ओलीले भने, ‘नराम्रो नभनौं, प्रतिक्रियावादी काम माधव नेपालजीको नेतृत्वमा भयो, यो पार्टी सिध्याउन उहाँले कुनै कसर बाँकी राख्नुभएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *