‘अहिलेको एमाले नेकपाकै निरन्तरता हो, १० बुँदे सुझाव बाध्यकारी छैन’ – Nepal Press
नेपाल टक

‘अहिलेको एमाले नेकपाकै निरन्तरता हो, १० बुँदे सुझाव बाध्यकारी छैन’

कैलाली । नेकपा एमालेभित्र असार २७ मा १० सदस्यीय कार्यदलले तयार गरेको १० बुँदे सहमतिलाई लिएर फेरि विवाद बल्झिन थालेको छ । उक्त सहमति लागू गर्न अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि तेस्रो धारका नेताहरु असन्तुष्ट बनेका छन् ।

एमालेको कार्यदलले सर्वोच्चको फैसलाअनुसार पार्टीलाई जेठ २ को अवसथामा फर्काउने सहमति गरेको थियो । तर, अध्यक्ष ओलीले पार्टीलाई तत्कालीन नेकपाकै निरन्तरता भएको बताउँदै हालै सुदुरपश्चिमको इन्चार्जमा लेखराज भट्टलाई कायम राख्ने जनाउ दिए । यसमा उपाध्यक्ष भीम रावल सन्तुष्ट छैनन्, जो पूर्ववतरुपमा सुदुरपश्चिमका संयाेजक थिए ।

यता ओलीको संरक्षण पाएर भट्टसहित पूर्वमाओवादीबाट आएका नेताहरु भने खुशी छन् । ओलीकै भाकामा उनीहरु पनि अहिलेको एमाले नेकपाकै निरन्तरता भएको भन्दै जेठ २ फर्किन नसक्ने बताउँछन् ।

पूर्वमाओवादीबाट आएर एमालेमै अडिएका नेतामध्ये एक हुन् लेखराज भट्ट । एमाले र माओवादी ब्यूँँतिएसँग उनले एमालेको सुदुरपश्चिम इन्चार्जको भूमिका पाएका छन् । एमाले र माओवादी एकताभन्दा अघिसम्म उनी सुदूरपश्चिम संयोजक थिए ।

१० बुँदे सहमति र जेठ २ प्रसङ्गले एमालेमा रहका पूर्व माओवादीहरूलाई कस्तो प्रभाव पर्छ भन्ने बिषयमा भट्टसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ

एमालेको सुदूरपश्चिम इन्चार्ज अब को हो ? तपाईं कि भीम रावल ?

स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठकमा मात्रै होइन अध्यक्ष केपी शर्मा ओलीले हामीलाई बालकोटमा बोलाएर सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट र अध्यक्ष कर्ण थापा रहने तथा उपाध्यक्षको हैसियतमा भीम रावलले सहजीकरण कार्यदलको नेतृत्व गर्ने भन्नु भएको छ । हामीले त पार्टी अध्यक्ष र कमिटीले गरेको निर्णय मान्ने हो ।

पार्टी एकताको केही प्रक्रिया बाँकी थियो । त्यही बीचमा अन्तरसंघर्ष भयो । पूर्वमाओवादीबाट आएका केही पक्ष हामी थियौं । हामीले एकता बचाउनु पर्छ भन्यौं । त्यही एकताको सम्झौताअनुसार अघि बढ्नु पर्छ र यही सरकारले पाँच बर्ष चलाउनु पर्छ भनेका थियौं ।

त्यो बिचमा केही नेताहरू अली अराजक भए । नेतृत्वको बिषयमा, पार्टीको बिषयमा, प्रधानमन्त्रीको बारेमा पनि अनेकथरि बोल्न थाले । त्यही बीचमा अदालतको फैसला आयो । हामी एकताकै निरन्तरताको रुपमा नेतृत्वसँगै रहेका हौं ।

अहिले भीम रावल र तपाईबीच इन्चार्जको जिम्मेवारीलाई लिएर शीतयुद्ध चलिहरेको अवस्था हो ?

बाहिर आएको जस्तो छैन । यहाँ कुनै व्यक्तिको कुरा होइन । पार्टीको कुरा हो । बिचारको कुरा हो । कुन व्यक्तिलाई पार्टीले कस्तो जिम्मेवारी कसरी दिइन्छ भन्ने कुरा हो । उहाँसँग मैले र मसँग उहाँले व्यक्तिगत रुपमा लड्नु पर्ने कुरा केही छैन ।

हाम्रो राम्रो सम्बन्ध छ । सुमधुर सम्बन्ध छ । म पारिवारिक कामले यहाँ आउँदा उहाँलाई म जाँदै छु भनेकै हो । उहाँले पनि मलाई हिजो सम्पर्क गर्नुभएको रैछ । मसँग कुरा हुन नसकेपछि मेरो पीएसओमार्फत मसँग कुरा भएको थियो ।

तर, दुवै जना दुई दिन धनगढीमा हुँदा पनि फरक-फरक कार्यक्रममा हिँडिरहनु भयो । यसले त अर्कैं संकेत गर्दैन र ?

त्यस्तो होइन । आवश्यकता परेको अवस्थामा हाम्रो भेट भइहाल्छ । म पारिवारिक भेटघाटमा .कञ्चनपुर गएँ । उहाँ यता साथीहरूसँग हुनुहुन्थ्यो । जहाँ समस्या आउँछ, हामी बसेर समाधान गर्छौं ।

उहाँ १० बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्दै हुनुहुन्छ । १० बुँदे सहमति कार्यान्वयन हुने अवस्था सृजना भए तपाईंहरूको अवस्था के हुन्छ ?

पार्टी अध्यक्षले पनि भन्नुभएको छ । यो एमाले भनेको नेकपाको निरन्तरता हो । यो जेठ २ होइन । यो नयाँ एमाले हो ।

प्राविधिक रुपमा नाम जे रहे पनि राजनीतिक र वैचारिकरुपमा यो नयाँ एमाले हो । सुरुबाटै अध्यक्ष ओलीले एमालेको एकता बचाउन धेरै पहल गर्नुभएको हो । त्यो बेला उहाँ एकताको लागि भन्दै निकै लचक हुनुभएको थियो ।

त्यहि बेला १० सदस्यीय कार्यदल बन्यो । १० बुँदे आयो । तर, त्यो १० बुँदेले पनि हामीलाई सम्बोधन गरेन । ४ नम्बर बुँदालाई यसमा राखिएको थियो । तर, पूर्ण रुपमा हामीलाई सम्बोधन गर्न सकेन ।

भनेपछि १० बुँदे सहमतिमा पनि तपाईंहरूको असहमति हो ?

हो । तर, यो चार नम्बर बुँदाले हामीलाई कति समेट्छ भन्ने हो । मलाई लाग्छ, यो १० बुँदेले पनि समेट्दैन । अध्यक्षले स्थायी समितिमा र केन्द्रीय समितिमा पनि कार्यदलले सुझाव दिएको बताउनुभएको थियो ।

त्यो निर्देशन होइन, सुझाव हो भनेर उहाँले भन्नु भएको थियो । पार्टीको सम्पत्ति भएको हुँदा त्यसलाई पार्टीले अनुमोदन गर्छ । तर, यो निर्णय होइन भनेर अध्यक्ष कमरेडले भन्नुभएको छ ।

अहिले नयाँ कार्यबिभाजन भएको छैन । अर्काे केन्द्रीय कमिटीमा कार्यविभाजन हुन सक्छ । अहिले कार्यजिभाजन यथावत् छ । हामीले बुझेको त्यही हो । त्यही आधारमा अहिले पनि पार्टी छ । तर, पूर्वमाओवादी पार्टीले गरेको निर्णय मान्न तयार छ ।

पूर्वमाओवादीलाई एमालेमा कसरी समेट्ने भन्ने बिषयमा १० बुँदे सहमति गर्नुभन्दा पहिले तपाईंहरूसँग केही छलफल भएको थियो ?

जतिबेला पार्टी संकटमा थियो हामी दह्रोरूपमा उभिएर पार्टीको नेतृत्व, नेतृत्वको बिचार, विधि र पद्धतिमा लागेका थियौं । पार्टी संंकटमा भएको बेला बचाउन ठूलो भूमिका खेलेका थियौं । त्यो दायित्व पूरा गरेका थियौं । पार्टी फुट्न हुन्न, कमरेडहरूलाई ल्याउनुपर्छ भनेर त्यसका लागि हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौं भनेका थियौं ।

१० बुँदे आपछि हामीले आफ्नो बिचार स्पष्ट राखेका थियौं । अहिले पनि अध्यक्षले केन्द्रीय समितिको बैठकमा स्पष्ट राख्नुभएको छ ।

माओवादीबाट एमालेमा आएको समूहभित्र नै अब नेतृत्व कसले लिने भन्ने बिषयमा विवाद सुरु भएको सुनिन्छ नि ?

हामी पार्टीमा आइसकेपछि यहाँ छुट्टै गुटको आवश्यकता छैन । गुटले पार्टीलाई बलियो बनाउन सक्दैन ।

हामी केपी ओलीको नेतृत्वमा आएका हौँ । उहाँको बिचारलाई मानेर यहाँ आएका हौं । अहिले आवश्यकता पनि उहाँ नै हो । जनाधार उहाँको तलैसम्म छ । विकासका कामहरूले र सरकारको नेतृत्व गरेपछि उहाँप्रति जनताको विश्वास बढेको छ । पार्टीप्रति पनि जनाधार बढेको छ ।

पूर्वमाओवादीबाट आएका हामीहरूको यथोचित व्यवस्थापन कसरी गर्ने के गर्ने भन्ने प्रश्न अहिले पनि चलिरहेको छ । हामीले नेतृत्वसँग पनि यस बिषयमा कुरा गरिरहेका छौं ।

अहिले उपाध्यक्ष भीम रावलको नेतृत्वमा कार्यदल बनेको छ । त्यहाँ पनि केन्द्रीय समितिमा कति लैजाने भन्ने बिषयमा छलफल हुन्छ । विभिन्न विभागहरू छन् । त्यहाँ कति लैजाने भन्ने बिषयमा पनि छलफल भइरहेको छ । आयोगहरू छन् । त्यसमा पनि उचित नेतृत्व दिनुपर्छ भनेर हामीले भनेका छौं । पार्टी अध्यक्षले पनि सकारात्मक रुपमा लिनुभएको छ ।

अहिले हामी त्यही बाटोमा अघि बढिरहेका छौं । पार्टी सदस्यता नवीकरणको कामलाई अघि बढाएका छौं । असोज १५ देखि १७ सम्म विधान महाधिवेशन हुँदै छ । पूर्वमाओवादीबाट आएका सबै कमरेडहरूले आफ्नो भूमिका निर्वाह गरिरहनु भएको छ ।

मंसिरभित्रै महाधिवेशन हुँदै छ । त्यहीअनुसार हामी लागिरहेका छौं । पूर्व माओवादीका साथीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा हामी गम्भीर छौं। हिजोको विधानले हामीलाई अवरोध गर्छ ।

यस्तै अवस्थामा तपाईंहरु महाधिवेशन कसरी फेस गर्न सक्नुहुन्छ ? आफूहरुलाई पेलाइमा पारिने डर छैन ?

बाधा अड्काउ फुकाऊ स्थायी समितिका लगिएको छ । त्यसमा छलफल भइरहेको छ । एकीकरणमा आएकाहरूलाई १० प्रतिशत मनोनितको प्रावधान राखिएको छ । त्यो माध्यमबाट प्रतिनिधि छनोट हुन्छ । हिजोको निर्वाचन प्रणालीबाट हामी कुनै प्यानलमा उभिने भन्ने कुरा हुँदैन ।

मुख्यरुपमा हामी अध्यक्ष केपी शर्मा ओलीसँगै हुन्छौं । हामी प्यानलको पक्षमा अहिले छैनौं ।

माओवादीबाट एमालेमा गएकाहरुले फेरि फुटेर नयाँ पार्टी निर्माण गर्ने त होइनन् भन्ने आशंका पनि गरिन्छ । पूर्वमाओवादी वृत्तमा पार्टी खोलेर जाने बिषयमा औपचारिक वा अनौपचारिक केही कुरा भएको छ ?

अहिले हामीले ती बिषयमा सोचेकै छैनौँ । हामी अहिले अध्यक्ष केपी ओलीमै केन्द्रित भएर जानु पर्छ र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर जानुपर्छ भन्नेमा छौं ।

बाहिर रहेका, फुटमा रहेकाहरूलाई पनि एक ठाउँमा ल्याएर समाजवादतर्फ लाग्नुपर्छ भनेर छलफल त हुन्छ । अर्का पाटोमा माओवादीबाट आएकाहरूलाई व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा पनि हामी गम्भीर छौं । ती बिषयमा पनि छलफल र कुराकानी हुन्छ । कहिलेकाहीँ भएको भेटघाटलाई लिएर आशंका गरिन्छ । हाम्रो योजना त्यस्तो छैन । तर हाम्रो भूमिका माथिदेखि तलसम्म सुनिश्चित हुनुपर्छ भन्ने हो ।

तर, जेठ २ कार्यान्वयन हुने अवस्थामा कार्यकर्ता त परैको कुरा हो तपाईंहरूकै भूमिका खोसिने सम्भावना हुन्छ । त्यसपछि तपाईंहरू के गर्नुहुन्छ ?

म फेरि भन्छु, जेठ २ ले पार्टीलाई बलियो बनाउँदैन । हुबहु जेठ २ कार्यान्वयन हुँदैन । जेठ ३ को एकता, पार्टीभित्रको अन्तसंर्घषमा जसको जे भूमिका थियो त्यही हुन्छ । अबको एमाले जेठ २ को पुरानो एमाले होइन । जेठ ३ गते र सर्वोच्चको फैसलापछिको जिम्मेवारीलाई पनि समावेश गरेर तयार भएको नयाँ एमाले हो ।

अब अन्तिममा, अहिले तपाइहरू फेरी निर्वाचनमा जाँदा बहुमत ल्याउने दाबी गर्नुहुन्छ । पार्टी छिन्नभिन्न हुँदा पनि बहुमत ल्याउने कुरालाई कसरी जनताले पत्याउँछन् त ?

हामी हिजो सरकारमा भएका बेला धेरै विकास-निर्माणका काम भएका छन् । अध्यक्ष ओलीले गरेका विकास-निर्माणका काम तपाईंहरू पनि प्रष्ट देख्न सक्नुहुन्छ । जनताले ओली सरकारले ५ बर्ष नै नेतृत्व गरेको हेर्न चाहेका थिए । तर, पार्टीभित्रै र बाहिरबाट भएको घेराबन्दीले त्यो सम्भव भएन । त्यसैले जनताले फेरी पनि विकास-निर्माणको गति बढाउन हामीलाई जिताउने छन् ।

यो नयाँ एमाले हो र यसले सबैको बिचारको सम्मान गर्छ भन्ने सन्देश आमजनतालाई बुझाउन आवश्यक छ । यस्तो अवस्थामा हामीले बहुमत ल्याउन सक्छौँ । हाम्रा आन्तरिक समस्याहरूलाई हल गरेर अघि बढेको अवस्थामा पार्टी र मुलुकको भविष्य मैले राम्रो देखेको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर