पञ्चा सिंहले सम्मेलन गराएको कैलालीमा अखिल क्रान्तिकारीका दुईटा कमिटी घोषणा – Nepal Press

पञ्चा सिंहले सम्मेलन गराएको कैलालीमा अखिल क्रान्तिकारीका दुईटा कमिटी घोषणा

कैलाली । माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको कैलाली जिल्ला सम्मेलनमा विवाद भएपछि दुई वटा अलग–अलग जिल्ला कमिटी बनेका छन् ।

केन्द्रीय उपाध्यक्ष पञ्चासिंह सम्मेलन गराउन कैलाली आएकी थिइन् । उनले विवाद मिलाउन नसकेपछि समानान्तर रुपमा दुई वटा जिल्ला कमिटी घोषणा भएका हुन् ।

एउटा पक्षले समीर जोशी अध्यक्ष रहेको जिल्ला समिति घोषणा गरेको छ भने अर्को पक्षले शिवराज सन्ज्यालको अध्यक्षतामा जिल्ला समिति घोषणा गरेपछि कसलाई आधिकारिकता दिने भन्ने विवाद बढेको छ ।

सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टको विशेष उपस्थितिमा सन्ज्यालको नेतृत्वमा ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको माओवादी केन्द्र घोडाघोडी नगर कमिटीका सचिव खगेन्द्र हमालले जानकारी दिए । कार्य समितिको पदाधिकारीमा ४ जना उपाध्यक्ष, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना रहेको छन् ।

‘आधिकारिक अध्यक्ष सन्ज्यालनै हुन्’ उनले भने, ‘समीर जोशीले साथीहरूलाई फेसबुकमा हाल्न मात्रै लगाउनु भएको हो ।’

समीर नेतृत्वको उपाध्यक्षमा भरत जोशी, महेश थापा, शंकर डगौरा र आयुष परियार चयन भएका छन्।

जोशीले आफू नै आधिकारिक अध्यक्ष भएको दाबी गरेका छन् ।

‘एउटा टिमले सन्ज्याललाई अध्यक्ष घोषणा गरेका हुन् ’ उनले भने ‘आधिकारिक रुपमा म अध्यक्ष हुँ। मलाई संगठनका केन्द्रीय प्रवक्ता र प्रदेशका सह संयोजकले शपथ ग्रहण गराउनु भएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर