औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीबाट जोगाउन निषेधित क्षेत्र घोषणा – Nepal Press

औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीबाट जोगाउन निषेधित क्षेत्र घोषणा

रुपन्देही । औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासीहरुले कब्जा गर्न थालेपछि रुपन्देही प्रशासनले बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक करिडोर क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले औद्योगिक करिडोरको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजनाअनुसार केही व्यक्तिले रातको समयमा सुकुम्वासी भेला गर्ने गरेको भन्दै त्यस क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको हो । कार्यालयले एक विज्ञप्ती जारी गर्दै करिडोर क्षेत्रमा सुकुम्बासीहरुलाई भेला गरी सुकुम्बासी बस्ती बसाउन प्रयास भएको जनाएको छ ।

उक्त क्षेत्रमा आवतजावत भेला नहुन र नगर्नका लागि कोभिड- १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी २८ भदौदेखि नै लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘निषेधित क्षेत्रभित्र निषेध गरिएका क्रियाकलाप भएगरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा आम सर्वसाधारणमा सूचित गरिन्छ,’ विज्ञप्तीमा भनिएको छ ।

निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नं. १७ शिवनगरदेखि वडा नं. १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खोतियोग्य जमिन ९ बुटवल उपमहानगरपालिका वडा नं. १७, उत्तरतर्फ शिवनगर रानीगाउँ बस्ती बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहियासम्म) तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर