दुई साताभित्र २०२१ का डीभी विजेतालाई भिसा दिन अमेरिकी विदेश मन्त्रालयको निर्देशन – Nepal Press

दुई साताभित्र २०२१ का डीभी विजेतालाई भिसा दिन अमेरिकी विदेश मन्त्रालयको निर्देशन

३८ सय नेपाली भिसाको प्रतीक्षामा

न्यूयोर्क । आगामी सेप्टेम्बर ३० भित्र आर्थिक वर्ष २०२१ का विजेतालाई डाइभर्सिटी भिसा (डीभी) जारी गर्न दूतावास र कन्सुलेटलाई अमेरिकी विदेश मन्त्रालयले निर्देशन दिएको छ ।

डीभीलाई अन्तिम प्राथमिकतामा राख्ने विदेश मन्त्रालयको यसअघिको नीति कार्यान्वयनमा रोक लगाउने वासिङ्टन अदालतको आदेशपछि विदेश मन्त्रालयले दूतावासलाई डीभी भिसालाई प्राथमिकता दिन निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार डीभीका आवेदनहरु कानूनअनुसार प्रक्रियामा लगिने, आवेदक योग्य हुनुपर्ने, शुल्क तिरेको हुनुपर्ने, मेडिकल प्रतिवेदन बुझाउनुपर्ने, र भिसा जारी हुनुभन्दा अघि डाइभर्सिटी भिसाका लागि योग्य भएको प्रमाणित गर्नुपर्ने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ । डिभी २०२१ का आवेदकहरुका लागि सेप्टेम्बर ३०, २०२१ अथवा त्योभन्दा अगाडि भिसा जारी हुनुपर्ने प्रावधान छ ।

अमेरिकी दूतावास काठमाडौंले गत जुलाईमा ८३ जनालाई डीभी भिसा जारी गरेको थियो । जुन महिनामा अमेरिकी दूतावास काठमाडौंले जम्मा १६ जनालाई भिसा जारी गरेको थियो ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ छ । उनीहरुमध्ये ३६ सयभन्दा धेरैले अझै भिसा पाएका छैनन् । उनीहरुले गतबर्षको अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि ट्रम्पको आप्रवासन रोकले भिसा पाउन ढिला भएको थियो ।

आगामी अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउन सुरु गर्नेछन् । अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *