एमाले विभाजनले राष्ट्रियसभा निर्वाचनको मतभारमा फेरबदल, कर्णालीमा माओवादी पहिलो – Nepal Press

एमाले विभाजनले राष्ट्रियसभा निर्वाचनको मतभारमा फेरबदल, कर्णालीमा माओवादी पहिलो

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले विभाजनले राष्ट्रियसभा निर्वाचनको मतभार पनि फेरबदल हुने भएको छ ।

बदलिएको परिस्थितिअनुसार कर्णालीको राष्ट्रियसभाको मतभारमा माओवा पहिलो, एमाले दोस्रो र कांग्रेस तेस्रो हुनेछ ।

एमालेले कर्णालीका ७९ स्थानीय तहमध्ये २९ तहमा जितेको थियो । त्यस्तै कांग्रेस र माओवादीले २५–२५ तह जितेका थिए । ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा एमाले एक्लैको २० सांसद थिए । विभाजनसँगै एमालेसँग अब १३ सांसद बाँकी छन् । यहाँका तीन सांसद नेकपा एसमा गए भने चार सांसद पदमुक्त भएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुख, उपप्रमुख एवम प्रदेशसभाका सदस्यहरुसँग हुन्छ । कर्णालीबाट राष्ट्रिय सभामा हाल प्रतिनिधित्व गरिरहेका तीन जना सांसदको पदावधि आगामी फागुनमा सकिँदैछ । एमालेका देवी ओली, पदम रोकाया र चन्द्रबहादुर शाही एकीकृत समाजवादीमा लागेका छन् ।

चुनावमा एक सांसद बराबर ४८ मतभार हुन्छ । तीन जना सांसद बराबर १४४ मतभार हुन जान्छ ।

स्थानीय तहका प्रमुख–उपप्रमुखमध्ये नयाँ दलमा एमालेबाट १३ जना गएका छन् । सल्यानबाट एक अध्यक्ष, एक उपाध्यक्ष, दैलेखबाट दुई अध्यक्ष, दुई उपाध्याक्ष र एक उपप्रमुख नयाँ दलमा गएका छन् ।

कालिकोटबाट दुई अध्यक्ष, एक उपप्रमुख र एक उपाध्यक्ष, डोल्पाबाट एक नगरप्रमुख र मुगुबाट एक उपाध्यक्ष १३ जनाले एमाले त्यागेका छन् ।

स्थानीय तहका पदाधिकारीको मतभार १८ हुन्छ । १३ जनाको मताभार २३४ हुन्छ । प्रदेशसभाको १४४ मतभार यसमा जोड्दा ३७८ हुन्छ ।

समाजवादी पार्टी नबनेको अवस्थामा एमालेसँग ५८ ओटा पालिकाका पदाधिकारी थिए । त्यो भनेको १ हजार ४४ मत हो ।

त्यसबाट अब दुई सय ३४ मत घटाउँदा ८१० मत एमालेको हुन्छ । यस्तै, प्रदेशसभामा एमालेका १३ जना मात्रै बाँकी छन् । त्यो भनेको ६२४ मत हो । एमालेसँग राष्ट्रियसभाका लागि चुनाव हुँदा कुल १४३४ मत मात्रै हुन्छ ।

माओवादी केन्द्रसँग पालिकामा ५२ पदाधिकारी छन् भने प्रदेशसभामा १२ सांसद छन् । राष्ट्रियसभाको निर्वाचन भएको खण्डमा माओवादीमा पालिकाबाट ९३६ र सांसदबाट ५७६ मत प्राप्त हुन्छ । यो भनेको १५१२ मत हो । माओवादी केन्द्र यसअघि मतका हिसाबले दोश्रो ठूलो दल भएपनि एमाले विभाजनपछि भने पहिलो दल बन्न पुगेको छ । एमालेभन्दा माओवादीको ७८ मत बढी छ ।

नेपाली कांग्रेससँग पालिका प्रमुख–उपप्रमुखको ७२० मत छ भने ६ सांसदको ४८ का दरले २८८ हुन्छ । दुवै जोड्दा कांग्रेससँग राष्ट्रिय सभाको लागि १ हजार ८ मत छ ।

आगामी फागनुभित्र राष्ट्रियसभामा निर्वाचित रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (हाल एकीकृत समाजवादी), हुम्लाका कविता वोगटी (एमाले) र कालिकोटका जीवन बुढा ( माओवादी)को पदावधि सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर