धनगढीमा राना समुदायको प्रदर्शन, आफ्नो भाषालाई सरकारी कामकाजीको बनाउन माग – Nepal Press

धनगढीमा राना समुदायको प्रदर्शन, आफ्नो भाषालाई सरकारी कामकाजीको बनाउन माग

कैलाली । भाषा आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा राना थारु भाषालाई नसमेटेको भन्दै धनगढीमा प्रदर्शन भएको छ ।

नेपाल राना थारु समाजले आयोजना गरेको प्रदर्शनमा कैलाली कञ्चनपुरबाट हजारौंको संख्यामा राना समुदायका नागरिकको उपस्थिति थियो । धनगढीको ट्राफिक चौराहाबाट सुरु भएको र्‍याली पार्क मोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले नियोजित ढंगले राना भाषालाई सरकारी कामकाजको भाषाको रुपमा सिफारिस नगरेको बताए । यसअघिको सरकारले सूचीकृत गरेको समुदायलाई देउवा सरकारले विभेद गरेका उनले आरोप लगाए ।

उनले आफूसँग चुनावमा पराजित भएकी देउवापत्नीले आफ्नो समुदायसँग रिस फेरेको बताए । ‘यही ठाउँबाट प्रधानमन्त्रीकी पत्नी मसँग चुनाव हार्नुभएको हो ’ उनले भने ‘देउवापत्नीले आफूलाई चुनाव हराएको रिस र पीडाका कारण अधिकार कुण्ठित खोज्नुभएको छ ।’

उनले सबै प्रक्रिया पुरा हुँदा पनि भाषा आयोगले विभेद गरेको बताए । भाषा आयोगले प्रतिवेदनमा राना भाषा पनि कामकाजको भाषाको रुपमा सिफारिस नगरे थप आन्दोलन चर्काउने उनीहरुको चेतावनी छ ।

कार्यक्रममा राना थारु समाजका अध्यक्ष कृपाराम राना, उपाध्यक्ष कमलसिंह राना लगायतका राना थारु अगुवाहरूले तत्काल भाषा आयोगले प्रतिवेदन परिमार्जित गर्नुपर्ने बताए ।

नेपाल रानाथारू समाजलगायत रानाथारूसम्बद्ध विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुले सुदूरपश्चिममा डोट्याली र थारु भाषाजस्तै रानाथारूलाई पनि कामकाजी भाषाको मान्यताका लागि सिफारिस गर्नुपर्ने बताए ।

उनीहरुले भाषा आयोगले रानाथारू समुदायको पहिचान मेटाउन खोजेको आरोप लगाए ।

रानाथारूलाई थारु समुदायअन्तर्गत राखिँदै आएकोमा सरकारले २०७७, ५ जेठमा छुट्टै आदिवासीको सूचीमा सूचीकृत गरेको थियो । कैलाली र कञ्चनपुरमा आदिवासीको रूपमा रहेको रानाथारूको छुट्टै भाषा, पहिचान र रीतिरिवाज छ । यहाँ करिब ३ लाखभन्दा बढी राना समुदायका नागरिकको बसोबास रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर