‘तोरी खायो मौरीले’ गीतमा मौरीपालक महासंघको आपत्ति, कमला घिमिरेमाथि हदैसम्म कारवाही माग ! – Nepal Press

‘तोरी खायो मौरीले’ गीतमा मौरीपालक महासंघको आपत्ति, कमला घिमिरेमाथि हदैसम्म कारवाही माग !

काठमाडौं । कमला घिमिरे र खेम सेन्चुरीको स्वरमा हालै सार्वजनिक भएको ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतप्रति मौरीपालक महासंघले आपत्ति जनाएको छ । गीतमा प्रयुक्त ‘तोरी खायो मौरीले’ शब्दले मौरीपालक किसानलाई दुखित तुल्याउनुका साथै अन्योल सिर्जना गरेको महासंघको भनाइ छ ।

महासंघका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन् तोरी खायो भनेर गलत सन्देश दिएको विज्ञप्तिमा उल्लेख छ ।

‘वैज्ञानिक तथयहरु र अरुको अधिकारप्रति पूर्ण खेलवाड गर्दै आफ्नो अधिकार उपयोग गर्ने नाममा भ्रामक साथै पागल बहुलठ्ठीपन प्रयोग गरी यस्ता गीतहरु सम्प्रेषित र प्रकाशित गर्ने कमला घिमिरेप्रति खेद व्यक्त गर्दै नेपाल सरकारले हदैसम्मको कानूनी कार्वाही गर्न यसै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

उक्त गीत तत्काल बन्द गर्न महासँघले जोडदार माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘तोरी उत्पादनमा मौरी विचरण-चरण गर्दा ३० प्रतिशतभन्दा बढी उत्पादनमा वृद्धि भएको प्रयोगात्मक तथ्य जानकारी गराउँदै प्रेस जगतलाई यस्ता आधारहिन प्रसंग समेटी गरिने जिव समाचारहरुलाई निरत्साहित गर्न अनुरोध गर्छौं ।’

शुभारम्भ डिजिटल म्युजिकले ल्याएको यो गीत दुई महिना अगाडि नै युट्युवमा सार्वजनिक भएको हो । अहिलेसम्म गीतले ३६ लाखभन्दा बढी भ्यूज पाएको छ भने तीन हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । यो गीत मौरी खेतिसँग सम्वन्धित भने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर