देउवाप्रति रामचन्द्रको आक्रोश- सत्ताको दुरुपयोग गरेर अधिवेशनको नाटक रचियो, हामी मान्दैनौं – Nepal Press

देउवाप्रति रामचन्द्रको आक्रोश- सत्ताको दुरुपयोग गरेर अधिवेशनको नाटक रचियो, हामी मान्दैनौं

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर अधिवेशनको नाटक रचेको भन्दै त्यसलाई नमान्ने बताएका छन् ।

कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पौडेलले आफू पक्षका नेता, कार्यकर्ताहरूलाई पाखा लगाउने नेतृत्वले गरेको भन्दै आक्रोश जनाए ।

‘वडा अधिवेशनहरु भयो भनेर नाटक रच्न खोजिएको छ । हामी यसलाई मान्दैनौं । त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन’, पौडेलले भने, ‘नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरूलाई पाखा लगाउने काम भएको छ । हामी त्यसको विरोध गर्न चाहन्छौं ।’

देशैभरी पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने दूस्साहस भइरहेको भन्दै पौडेलले कांग्रेसलाई लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा विचलित हुन नदिन प्रतिबद्ध रहेको बताए ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानविन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप पनि लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर