एमालेको बहिष्कारबीच सभामुखले बोलाएको सर्वदलीय बैठक जारी – Nepal Press

एमालेको बहिष्कारबीच सभामुखले बोलाएको सर्वदलीय बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अवरुद्ध भएको संसद सुचारु गर्ने विषयमा छलफल गर्न सभामुखले बोलाएको सर्वदलीय बैठक शुरू भएको छ।

बानेश्वरस्थित ल्होत्से हलमा शुरू भएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने अनुपस्थित छ । १४ जनामाथि गरिएको कारवाहीको सूचना टाँस गर्नुपर्ने, नभए राजीनामा दिनुपर्ने सर्त राखेको एमालले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठक बहिष्कार गरेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई आज बिहान टेलिफोनमार्फत आफूहरूले अवैध भनेको दल नेकपा एसको सहभागितामा हुने बैठकमा भाग नलिने जानकारी दिएका थिए ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिंदेनलगायत उपस्थित छन्। सर्वदलीय छलफलमा लागि सभामुख सचिवालयले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई पनि निमन्त्रणा गरेको थियो ।

सभामुखले आइतबार पनि एमालेसँग संवादको प्रयास गरेका थिए । एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीलगायतसँग छलफल गरेका थिए ।

छलफलमा एमाले सांसदहरूले सभामुखलाई आफ्नो गल्ती सच्याउन आग्रह गरेका थिए । त्यो सच्याएपछि मात्रै सदन चल्ने अवस्था रहने उनीहरूको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर