सुदूरपश्चिममा नेकपा एस संसदीय दलको बैठक बस्दै, दलको नेतामा तामाङ र सोडारीको चर्चा – Nepal Press

सुदूरपश्चिममा नेकपा एस संसदीय दलको बैठक बस्दै, दलको नेतामा तामाङ र सोडारीको चर्चा

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एसको संसदीय दलको बैठक बस्दैछ । सोमबार दिउँसो १ बजे दलको बैठक आह्वान गरिएको नेकपा एसकी केन्द्रीय सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

‘बैठक बस्ने समय तय भएको छ तर, एजेन्डा तय भएका छैनन्’ उनले भनिन्, ‘दलले मान्यता पाएपछि पहिलोपटक हामी बस्दै छौँ, केही बिषयमा छलफल होला । ’

सभामुखसहित २५ जना प्रदेशसभा सदस्य रहेको एमाले विभाजन भन्दा पहिले प्रदेशको सबै भन्दा ठूलो दल थियो । अहिले एमाले सभामुखसहित ११ सदस्यमा सीमित भएर चौथो दल भएको छ भने १४ सांसदसहित नेकपा एस सबै भन्दा ठूलो दल भएको छ ।

सबैभन्दा ठूलो दल रहेको नेकपा एसले आजको बैठकबाट दलको नेता छनोट गर्ने–नगर्ने भन्ने टुंगिएको छैन । आज सामान्य छलफल मात्रै भएको हुँदा सोमबार दलको नेता चयन नहुने सांसद तारालामा तामाङले बताए ।

‘हामीले छलफल गर्न बस्ने भनेका छौँ तर, आजै दलको नेता छनोट गर्ने बिषयमा छलफल भएको छैन ’ उनले भने ‘दलको नेता छनोटको बिषयमा फेरि छलफल होला । ’

जेठ २ मा तामाङ एमाले कञ्चनपुरको अध्यक्ष थिए। अहिले नेकपा एसको दलको नेताका आकांक्षी हुन् ।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी पनि दलको नेताका आकांक्षी हुन् । उनीहरु दुई मध्ये एक जना दलको नेता बन्न सक्ने बताइएको छ ।

त्यसका अलवा प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र पूर्व उद्योग, वन तथा वातावरणमन्त्री माया भट्ट पनि दलको नेताको आकांक्षी रहेको बताइएको छ ।

उनीहरु दुबै जना नेकपा एसका केन्द्रीय सदस्य हुन् ।

‘अहिलेसम्म दलको नेतामा चारजनाको नाम चर्चामा छ ’ नेकपा एसका एक सांसदले भने ‘प्रदेश सांसदमा सोडारी पक्षका धेरै छन् । केन्द्रमा सन्तुलन मिलाउन तामाङलाई बताउने सम्भावना छ । तामाङ र सोडारीमध्ये एकजना दलको नेता चुनिने सम्भावना छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर