युवती आत्महत्या प्रकरणः दुरुत्साहन मुद्दामा श्रीमान र अमाजु पक्राउ – Nepal Press

युवती आत्महत्या प्रकरणः दुरुत्साहन मुद्दामा श्रीमान र अमाजु पक्राउ

रुपन्देही । रुपन्देही तिलोत्तमा भदौ २० गते मृत भेटिएकी २७ वर्षीय सीता भण्डारी पौडेलको मृत्यु प्रकरणमा उनका श्रीमान र अमाजु पक्राउ परेका छन् ।

सीताका माइती पक्षले उनको आत्महत्या नभइ हत्या नै भएको जाहेरी दिएर एक सातादेखि निरन्तर न्याय खोज्दै आन्दोलन गरिरहेको छ ।

रुपन्देही प्रहरीले सीताको आत्महत्या दुरुत्साहन मुद्दामा २ जनामाथि अनुसन्धान भइरहेको जनाएको छ । मृतकका माइती पक्षले सीताको घरकै सदस्यको मिलेमतोमा हत्या भएको जाहेरी दिएका थिए ।

तिलोत्तमामा सीता भण्डारीको हत्या निष्पक्ष छानबिनको माग गर्दै दिनहुँ आन्दोलन भइरहेको छ । प्रहरीले यो विषयलाई उनीहरुकै मिलेमतोमा अनुसन्धानमा ढिलाई गरेको आरोप माइती पक्षले लगाइरहेका बेला मृतक भण्डारीका श्रीमान टीका पौडेल र आमाजु नाता पर्ने विष्णु पौडेललाई हिरासतमा लिएर अनुसन्धान शुरु गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीले २७ वर्षीया भण्डारीको झुण्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएपनि मृतकको बुवा हरि भण्डारीले मृत्युलाई दुरुत्साहनको आरोपसहित जाहेरी दिएपछि श्रीमान र आमाजुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए ।

भदौ २० गते बिहान साढे ४ बजे जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीया सीता भण्डारी पौडेल आफ्नै घर कोठामा मृतअवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टका आधारमा आत्महत्याकै कारण मृत्यु भएको प्रहरीले जवाफ दिए पनि मृतकका माइती पक्षले विश्वास गरिरहेका छैनन् ।

प्रहरीले सीताको परिवारका अन्य सदस्यलाई समेत सोधपुछ गर्दै गरेको र मृतकका श्रीमान टीका पौडेलले प्रयोग गरिरहेका मोबाइलको प्राविधिक परीक्षणका लागि प्रहरीको केन्द्रीय ल्यावमा पठाइएको डीएसपी थापाले बताए ।

सीताको मृत्यु प्रकरणको निष्पक्ष छानविन र अपराधीलाई कारवाहीको माग गर्दै मृतकका आफन्तहरुले लगातार आन्दोलन गरिरहेका छन् ।
तिलोत्तमा–८ मणिग्राममा २ वर्षअघि विवाह भएकी सीता भण्डारी पौडेलको आफ्नै घरमा हत्या भएको भन्दै माइती पक्षले कारबाहीका लागि प्रहरीमा जाहेरी दिए पनि सुनुवाई नभएको गुनासो गर्दै आएका छन् ।

यही भदौ १९ गते राती हत्या भएको भन्दै माइती पक्षले छानविनका लागि इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गर्न गए पनि सुनुवाई नभएपछि न्यायका लागि पहल गरिदिन आग्रह गरेका थिए । सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्यान गुमाउनुपरेको पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरेका थिए ।

पाल्पामा दरबार रिसोर्ट संचालन गरेका सीताका श्रीमान ४३ वर्षीय टीका पौडेलको परिवारले योजनावद्ध रुपमा आफ्नो छोरीको हत्या गरे पनि प्रहरीले घटनालाई सत्यतथ्य छानविन नगरी लुकाउन खोजिरहेको उनले आरोप लगाएपछि प्रहरीले सक्रियता बढाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर