दुईपांग्रे सवारीको अन्तशुल्क र सडक कर बढ्यो, मोटरसाइकल र स्कुटर महंगिने – Nepal Press

दुईपांग्रे सवारीको अन्तशुल्क र सडक कर बढ्यो, मोटरसाइकल र स्कुटर महंगिने

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत दुईपांग्रे सवारीसाधनको अन्तशुल्क र सडक कर वृद्धि गरेको छ । यसबाट अब विदेशबाट आयातित मोटरसाइकल तथा स्कुटरहरु महंगिने भएका छन् ।

सवारीसाधनमा २७० प्रतिशत कर असुल्दै आएको सरकारले दुईपांग्रे सवारीसाधनमाथिको अन्तशुल्क र सडक कर बढाएको हो । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश खारेज गर्दै ल्याएको प्रतिस्थापन विधेयकमा थप कर लगाएका हुन् ।

अब १२५ सीसीदेखि १५५ सीसीसम्मका मोटरसाइकल मूल्य बढेर आउँनेछन् । १२५ भन्दा माथि र १५५ सीसीसम्मका दुईपांग्रे सवारीसाधनको सडक दस्तुर प्रतिगोटा ३ हजार बढाइएको छ ।

सरकारले कम सीसीका बाइक तथा स्कुटरको समेत सडक सम्भार शुल्क भनेर कर थपेको छ । कम आय भएका व्यक्तिले कम सीसीका सवारीसाधन खरिद गर्ने गर्छन् ।

नेपालमा प्रयोग भइरहेका सुजुकी, यामाहा, अप्रिलियालगायत ब्राण्डका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरमा अब मूल्यवृद्धि हुनेछ ।

यामाहाका एन म्याक्स १५५ सीसी, एसजेड १५० सीसी, एफजेड १६ एफआई १५० सीसी, एफजेड एफआई भीथ्री-१५० सीसी, एफजेडएस एफआई डीडी १५० सीसी, एफजेडएस एफआई भीथ्री १५० सीसी, एमटी १५-१५५ सीसी र आर १५-१५५ सीसी अब मूल्य बढेर आउँनेछन् ।

यस्तै, हिरो हंक १५० सीसी र आर १५० सीसी, होन्डा सीबी युनिकर्न १५० सीसी, अप्रिलिया एसआर १५४ सीसी, भेष्पा भीएक्सएल १४९ सीसी, बेनेली जेन जेरो १५० सीसीको पनि मूल्यवृद्धि हुने भएको छ ।

सुजुकी जिक्सर एसएफ १५० सीसी, जिक्सर १५० सीसी, जिक्सर डीटीडीडी १५४.९ सीसीको पनि महंगा हुने भएका छन् ।

अघिल्लो सरकारले १५५ सीसीसम्मका तथा १५५ सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत मात्रै अन्तःशुल्क लिने गरेको थियो । वर्तमान सरकारले विधेयकमार्फत १२५ सीसी ननाघेका मोटरसाइकलमा ४० प्रतिशत अन्तशुल्क तोकेको छ । १२५ देखि २०० सीसी सम्मको बाइकलाई १० प्रतिशत अन्तशुल्क वृद्धि गरेर ५० प्रतिशत पुर्‍याएको छ ।

२०० सीसीदेखि २५० सीसी सम्मका मोटरसाइलकमा ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ ।

५०० देखि ८०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा बढाएर १०० प्रतिशत यो सरकारले पुर्याएको छ ।

नेपालमा नै एसेम्बल हुने दुईपांग्रे सवारीसाधनमा भने सरकारको यो निर्णयले धेरै मूल्यवृद्धि हुने छैन । नेपालमा टीभीएस र बजाजले बाइक एसेम्बल गरिरहेका छन् ।

अन्तशुल्क वृद्धि नभए पनि नेपालमा नै एसेम्बल भएका सवारीसाधनमा ३ हजार रूपैयाँ सडक दस्तुर शुल्क भने बढ्ने छ । बढेको सडक दस्तुरका कारण उपभोक्तालाई केही भार थपिनेछ । नेपालमा नै सवारीसाधन एसेम्बल गर्ने कम्पनीले अन्तशुल्कमा ५० प्रतिशत छुट पाउने गरेका छन् ।

दुईपांग्रे सवारीसाधनको वर्गीकरण थप

पहिले १५५ सीसीसम्मका बाइक तथा स्कुटरको १५ हजार रुपैयाँ, १५५ देखि २५० सीसीसम्मका बाइक तथा स्कुटरको १८ हजार, २५० देखि ४०० सीसीसम्मका बाइकको ५० हजार र ४ सय सीसीभन्दा माथिका बाइकमा १ लाख रूपैयाँ सडक निर्माण दस्तुर निर्धारण गरिएको थियो ।

हालका अर्थमन्त्री शर्माले सवारी प्रयोगकर्ता कर थप्ने उद्देश्यले १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार, १२५ देखि २५० सीसी सम्मका मोटरसाइकलमा १८ हजार, २५० देखि ४०० सीसीसम्मका मोटरसाइकलमा ५० हजार र ४०० सीसीभन्दा माथिका बाइकमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर