किन गृहजिल्ला आउँदैनन् गृहमन्त्री ? – Nepal Press

किन गृहजिल्ला आउँदैनन् गृहमन्त्री ?

मन्त्रीले बेवास्ता गरेकोमा जिल्लाबासी दुखी

रुपन्देही । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला हो, रुपन्देही । उनले मन्त्रालय सम्हालेको दुई महिनाभन्दा बढी भइसक्यो तर गृहजिल्ला आएका छैनन् ।

धेरैवटा विपद्का घटना भइसक्दा पनि गृहमन्त्री जिल्ला नआएको भन्दै रुपन्देहीबासीले गुनासो गरेका छन् । चिया चौतारीसँगै सामाजिक सञ्चालमा उनको आलोचना भइरहेको छ ।

उनी गृहमन्त्री भइसकेपछि जिल्लामा बाढी, पहिरो र डुबानको ठूलो विपत्ति आइलाग्यो । यही भाद्र ११ गते आएको बाढीले रुपन्देहीमा मात्रै ४ जनाको ज्यान गयो भने एक जना अझै वेपत्ता छन् ।

चुरेको पहिरोले बुटवल आसपासमा दर्जनौं विस्थापित भएका छन् । तिनाउको बाढीले दर्जनौ परिवार विस्थापित भएर विद्यालयमा बसेका छन् भने उनकै गृहनगर तिलोत्तमालगायत विभिन्न पालिकामा करोडौंको क्षति भएको छ ।

उनकै वडामा उनकै पार्टीनिकट एक युवतीको रहस्मय हत्या हुँदा प्रहरीले जाहेरी नलिएको भन्दै आन्दोलन भइरहेको छ । तर गृहमन्त्री खाँडले केही थाहा नभएजसो गरिरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

मन्त्री भएको २ महिना हुँदा र आफ्नो जिल्लामा यति ठूलो विपद् आइलाग्दा पनि गृहमन्त्री खाणको ध्यान जिल्लातर्फ नमोडिएको भन्दै स्थानीय आक्रोशितसमेत भएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ मा स्थायी घर भएका खाँणको बुटवलमा पनि घर छ । उनकै गृह नगर तिलोत्तमामा बाढीले डुबानमा पर्दा लाखौंका खेतीबालीमा क्षति पुर्याएको छ ।

जिल्लाका विभिन्न पालिकाहरुमा बाढी तथा डुबानले भएका क्षतिको पूरा विवरण अझैसम्म आउनसकेको छैन । गृहमन्त्रीकै जिल्ला भएका कारण विपद् तथा क्षतिको तथ्यांक संकलन, राहत वितरण र विस्थापितहरुलाई पुनःबासको व्यवस्था तीव्र गतिमा हुनुपर्ने जनताका अपेक्षा अधुरै छन् ।

यसैगरी लुम्बिनी प्रदेश सरकारले पनि हालसम्म विपद्बाट भएका क्षतिको विवरण संकलनको काम सकेको छैन । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रविलाल पन्थका अनुसार प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई तथ्यांक ल्याउनका लागि निर्देशन गरिए पनि हालसम्म काम पूरा भएको छैन ।

भदौ ११ गते आएको बाढीले रुपन्देहीमा मात्रै ४ जनाको ज्यान गयो भने एक जना अझै बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार जिल्लाका बुटवल उपमहानगर, लुम्बिनी साँस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका र मर्चवारी गाउँपालिका गरी चार नागरिकले बाढीमा डुबेर तथा नदीले बगाएर ज्यान गुमाएका छन् ।

यसैगरी सम्मरीमाई गाउँपालिकाका एक नागरिक अझैसम्म वेपत्ता छन् । बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार ज्योतिनगर पहिरो र तिनाउ नदीको कटानले विस्थापित बनेका करिब ५० घरपरिवार स्थायी बासस्थानमा फर्कने पर्खाइमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर