प्रचण्ड-बाबुरामका आदर्श गोन्जालोः जसलाई पेरुकै वामपन्थी राष्ट्रपतिले भन्छन् आतंककारी – Nepal Press

प्रचण्ड-बाबुरामका आदर्श गोन्जालोः जसलाई पेरुकै वामपन्थी राष्ट्रपतिले भन्छन् आतंककारी

इटहरी । पेरुको माओवादी आन्दोलन ‘साइनिङ पाथ’ का प्रमुख गोन्जालोको शनिबार बिहान पेरुको स्थानीय समयअनुसार बिहान ६:४० मा निधन भयो । २८वर्षदेखि जेलमा रहेका उनी ८६ वर्षको उमेरमा जेलभित्रै सकिए ।

गोञ्जालोको औपचारिक नाम थियो अभिमाइल गुजमान । उनले सन् १९८० देखि १९९० को दशकमा पेरुमा माओवादी आन्दोलन छेडेका थिए । न्यूयोर्क टाइम्सका अनुसार उनको नेतृत्वमा भएको सशस्त्र संघर्षमा ७० हजारको ज्यान गएको थियो । गोञ्जालोलाई नेपालका माओवादीले आदर्श मान्छन् ।

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डले उनको निधनमा भावुक श्रद्धाञ्जली दिएका छन् ।

प्रचण्डले लेखेका छन्, ‘पेरु कम्युनिष्ट पार्टीका नेता कमरेड गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेलको तत्कालका लागि अन्त्य भएको छ । वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतीक बनेका कमरेड गोन्जालोप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।’

यस्तै, नेपालका पूर्वमाओवादी नेता बाबुराम भट्टराईले गोन्जालोलाई ‘क्रान्तिकारी नेता’ भन्दै नेपाली माओवादी आन्दोलनमा उनको विचारले प्रेरणादायी भूमिका खेलेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पेरुका क्रान्तिकारी नेता अभिमायल गज्मन ‘गोन्जालो’ को निधनको खबरले अत्यन्त दु:खित छु । नेपालको माओवादी आन्दोलनको थालनी र विकासमा उहाँको विचारले ठुलो प्रेरणादायी भूमिका खेलेको थियो । उहाँको गिरफ्तारीपछि पेरुको आन्दोलनले धक्का खाएको अनुभवबाट पनि हामीले सिकेका थियौँ ।’

अरु देशका र नेपालका वामपन्थीमा रोचक भिन्नता छ । नेपालका वामपन्थी आयातित र अनुवादित विचार पढेर खरा क्रान्तिकारी बन्छन् । त्यो विचार पुरानो भएर विश्वका वामपन्थी अगाडि बढिसक्दा नेपालका भने त्यसैमा ढिपी लिइराख्छन् ।

देशको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा एमाले र त्यसबाट फुटेर बनेको नेकपा एसका नेताहरूले भने यो सामग्री लेख्दासम्म श्रद्धाञ्जली दिएका छैनन् । श्रद्धान्जली दिँदा गोन्जालोको असफल, अलोकप्रिय र हिंसात्मक राजनीतिप्रति सहानुभूति देखिने भएकाले हुन सक्छ उनीहरू मौन बसेको ।

गोन्जालेकै देश पेरुमा पनि उनलाई प्रचण्डले भनेजस्तो ‘वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतीक’ भनेर कसैले चित्रित गरेको पाइएन । सन् १९९३ मा टेलिभिजन सेटमा आएर हतियार बिसाउन आग्रह गरेपछि गोन्जालोकै समर्थकहरू समेत उनीसँग निराश छन् । बाबुरामले जस्तो उनलाई ‘क्रान्तिकारी’ पनि मानिएको देखिएन ।

कृषक परिवारबाट आएका प्राथमिक शिक्षक पेद्रो कास्टियो अहिले पेरुको राष्ट्रपति छन् । उनी पनि वामपन्थी हुन् । तर, उनले समेत गोन्जालोलाई ‘क्रान्तिकारी’ नभनेर ‘आतंककारी’ भने ।

कास्टियोले गोन्जालोलाई कुनै श्रद्धाञ्जली नदिइकन ट्वीट गरेका छन्, ‘हाम्रो देशका अनगिन्ति नागरिकहरूको मृत्युको लागि जिम्मेवार आतंककारी नेता अभिमाइल गुजमान मरेका छन् । आतंकवादलाई आलोचना गर्ने हाम्रो अडान उत्तिकै सशक्त र अविचलित छ । लोकतन्त्रमा मात्रै हामीले पेरुमा हाम्रो नागरिकको लागि विकास र न्याय दिन सक्छौँ ।’

गोन्जालोलाई जेल हाल्ने अल्बर्टो फुजिमोरीकी छोरी तथा उनको चुनावी प्रतिस्पर्धी केइको फुजिमोरीले जस्तै पेद्रो कास्टियोले गोन्जालोको आलोचना गरेका छन् । दुवै उमेद्वारको एकै खाले धारणा आएसँगै गोन्जालोलाई पेरुका मुलधारका वामपन्थीदेखि गैरवामपन्थि दुवैले आतंककारीको कोणबाटै हेरेको देखिन्छ ।

नेपालमा भने मरेपछि गोन्जालोको रिहाइको लागि पनि भावुक मागहरू भएका थिए । स्वयं वामपन्थी राष्ट्रपति आउँदा बेवास्ता भएको पेरुको मुद्दामा नेपाली केही वामपन्थी नेताहरूले सार्वजनिक कार्यक्रम नै आयोजना गरेर रिहाइको माग गरिएको थियो । माग गर्ने नेताहरूमा सिपी गजुरेल, देव गुरुङ, धर्मेन्द्र बास्तोलादेखि जनगायक जीवन शर्मासमेत थिए ।

शर्माले त कुनैबेला गीतै गाएका थिए, ‘पेरुको क्रान्तिलाई हाम्रो लाल सलाम ।’ पेरुकै मुलधारका वामपन्थीमा नआएको गोन्जालोको बहस नेपाली माओवादीमा भने घनिभूत थियो ।

दुई श्रीमती बिहे गरेका गोन्जालोले पछिल्लो समयमा ७५ वर्ष हुँदा जेलभित्रै फेरि विवाह गरेका थिए । गैरन्यायिक हत्या र आतंकमा उनले केही कसर छोडेनन् । आफ्नो आधार इलाकामा साइनिङ पाथको बिरोध गर्नेहरूको विभत्स नरसंहारदेखि दूतावासमा बम हान्नेसम्म गरेका थिए उनले ।

सन् १९९२ को डिसेम्बर २८ मा पेरुको राजधानी लिमामा रहेका चिनियाँ र जापानी दूतावासमा उनकै निर्देशनमा बम हानिएको थियो । चीनको दूतावासमा बम हान्नुको कारण चीनले सांस्कृतिक क्रान्ति बिर्सिएको आरोप थियो । जापानी दूतावासमा हान्नुको कारण चाहिँ तत्कालीन शासक अल्बर्टो फुजिमोरी जापानी मुलका हुनु थियो । सो बम हमलामा २५ जनाको ज्यान गयो । त्यही आतंककारी हमलाको दोस्रो आजीवन कैद भुक्तान सन् २०१८ बाट सुरु भएको अलजजिराले उल्लेख गरेको छ ।

नेपाली कम्युनिष्टको आफ्नै ढर्रा

अरु देशका र नेपालका वामपन्थीमा रोचक भिन्नता छ । नेपालका वामपन्थी आयातित र अनुवादित विचार पढेर खरा क्रान्तिकारी बन्छन् । त्यो विचार पुरानो भएर विश्वका वामपन्थी अगाडि बढिसक्दा नेपालका भने त्यसैमा ढिपी लिइराख्छन् ।

जस्तो अहिले पनि नेपालमा ‘सांस्कृतिक क्रान्ति’ हुनुपर्छ भनेर केही उग्र वामपन्थीहरूले भन्दै आएका छन । वास्तविकता यो हो कि अहिले माओले उत्पादन गरेको ‘सांस्कृतिक क्रान्ति’ स्वयं माओको चीनले छोडिसक्यो ।

चीनमा ‘महान सर्वहारा सांस्कृतिक क्रान्ति’ भन्दै सन् १९६६ देखि एक दशकसम्म हिंसा मच्चाइएको थियो । त्यसमा लाखौँ मान्छेको ज्यान गएको मानिन्छ । सांस्कृतिक क्रान्तिको नाममा चार ‘पुराना’ कुरा ध्वस्त गर्न माओले भने । माओले भनेका चार पुराना कुरा थिए ‘पुरानो विचार’, ‘पुरानो परम्परा’, ‘पुरानो बानी’ र ‘पुरानो संस्कृति’ । सांस्कृतिक क्रान्तिको नाममा धेरै धार्मिक धरोहर भत्काउनेदेखि सनातन परम्परा मान्नेहरूको हत्या गरियो । माओका विरोधीहरू तह लाइयो ।

चीनले सांस्कृतिक क्रान्तिका दौरानमा ज्यान जानेहरूको संख्या सार्वजनिक गरेको छैन । विभिन्न विदेशी सञ्चारमाध्यमहरूले लाखौँ मरेको दावी गर्दै आएका छन् । बेलायति अखबार गार्जियनले विभिन्न इतिहासकारहरूको भनाइ उद्धृत गर्दै सांस्कृतिक क्रान्तिमा ५ लाखदेखि २० लाखसम्म मान्छे मरेको अनुमान गरेको छ ।

सांस्कृतिक क्रान्तिमा ध्वस्त गरिएका पुराना धर्म, संस्कृति र परम्पराको पुनत्थानमा चीन अहिले दत्तचित्तका साथ लागेको छ । माओवाद, कन्फ्युसियसवाददेखि तिब्बती बुद्धवादमा चीन खुलेर प्रचार र लगानीमा लागेको छ । ‘पुनरुत्थानवाद’ भनेर चीनले अहिले त्यता लागेको छ र आफूलाइ ‘सभ्यताको देश’ को रुपमा चिनाउँछ । बीबीसीका अनुसार सन् २०१९ सम्ममा चीनका विश्वभर ५०० भन्दा बढी कन्फ्युसियस सेन्टर छन् ।

गोन्जालेकै देश पेरुमा पनि उनलाई प्रचण्डले भनेजस्तो ‘वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतीक’ भनेर कसैले चित्रित गरेको पाइएन । सन् १९९३ मा टेलिभिजन सेटमा आएर हतियार बिसाउन आग्रह गरेपछि गोन्जालोकै समर्थकहरू समेत उनीसँग निराश छन् । बाबुरामले जस्तो उनलाई ‘क्रान्तिकारी’ पनि मानिएको देखिएन ।

गत जुलाइमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी समारोहमा बोल्ने चिनियाँ नेताहरूले सांस्कृतिक क्रान्तिको विज्ञापन गरेनन् । बरु चिनियाँ विशेषतासहितको सि चिन फिङ विचारधाराको प्रचार र व्याख्या भयो । नेपालका हार्डलाइनर कम्युनिष्ट भने त्यही असफल र अलोकप्रिय सांस्कृतिक क्रान्तिको मन्त्र बेलाबेला जपिरहेका हुन्छन् । ‘धर्म अफिम हो’ भनेर मार्क्सले भनेको भनिएको लाइन सापटी लिनेहरू पनि छन् ।

माओवादको कुरा पनि उस्तै रोचक छ । चीनबाट आयात गरिएको माओवादकै नाममा नेपाली माओवादी प्रमुख प्रचण्डले चीनकै नेताहरूको विरोध गरेका थिए । माओको मृत्युपछि आएका देन स्याओपिङ ‘संसोधनवादी’ भएको र चीनमा ‘प्रतिक्रान्ति’ भएको भन्दै प्रचण्डको एक आलेख आएको थियो । यस बारेमा ‘चाइनाज इन्डिया वार’ पुस्तकको सातौं अध्यायमा लेखक बर्टिन लिन्ट्नरले लेखेका छन् । माओको विचार बोक्ने र चिनियाँ नेताहरू र आन्दोलनकै विरोध गरेको भन्दै चीन माओवादीसँग रिसाएको थियो । माओवादीलाई उनीहरू पनि ‘आतंककारी’ नै भन्न थाले ।

सन् २००५ को फेब्रुअरी ३ मा विदेशी पत्रकारहरूको प्रश्न सामना गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कोङ कुआङले नेपालमा सरकारविरोधीहरूले ‘माओवाद’ प्रयोग गरेकोमा असन्तुष्टी जनाएका थिए । उनले नेपाली माओवादीहरूले ‘माओको नामको दुरुपयोग गर्दै नागरिकहरू मार्ने कामलाई जनयुद्ध भनेको’ भन्दै असन्तुष्टी जनाएका थिए ।

लिन्ट्नरले पुस्तकमा यस बारेमा राम्रो व्याख्या गरेका छन् । माओवादी शान्ति प्रकृयामा आएपछि मात्रै चीनको संस्थापनसँग उच्चस्तरीय सम्पर्क र आदानप्रदान शुरू भएको थियो । र, अहिले चीनै जस्तो ‘समाजवाद’को नाम जप्न थालेको छ माओवादीले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर