दुई शताब्दीभन्दा पुरानो नासः मन्दिरको जिर्णोद्वार सम्पन्न – Nepal Press

दुई शताब्दीभन्दा पुरानो नासः मन्दिरको जिर्णोद्वार सम्पन्न

काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भूकम्पपछि क्षतिग्रस्त २ सय १४ वर्ष पुरानो नासः मन्दिरको जीर्णोद्वारपछि उद्घाटन गरेका छन् । उनले सम्पदा संरक्षण र पुर्ननिर्माणको अभियानमा काठमाडौँ महानगरपालिका निरन्तर लागि रहेको बताए ।

प्रमुख शाक्यको गृह वडा–२१ को सवल बहालमा रहेको उक्त मन्दिरको उद्घाटनपछि सम्वोधन गर्दै शाक्यले भने, ‘कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धनको अभियानमा हामी योजना बनाएर लागेका छौं ।’

उनले २०७२ सालको भूकम्पमा भत्केका काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहाललगायतका सम्पदा पुनर्निर्माणको अभियानमा काठमाडौं महानगरपालिकाका लागेको स्मरण गराए ।

उनले नासः मन्दिर यो क्षेत्रको ऐतिहासिक सम्पदा रहेको बताए । ‘यो तल्लो भेगलाई तल नै परेको ठाउँ भनिन्थ्यो, तर अहिले यो ठाउँले विकास गरी माथि आइसकेको छ,’ उनले थपे, ‘पहिले पहिले यो सबल बहालमा आउने मानिसहरू नाक थुनेर आउने गर्थे, अहिले आफूलाई सबल बहालको नागरिक भन्दा गर्व गर्न सक्ने अवस्था आएको छ । यसको गौरव अझ बढाउन हामीले आर्थिक समृद्धि गर्नुपर्दछ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री समेत रहनु भएका कृष्णगोपाल श्रेष्ठ २०७२ सालको भूकम्पमा भत्केको काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहालहरू जम्मै अहिले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा पुनर्निर्माण भइसकेको बताए ।

उनले सवल बहाल भनेको भूमिगत कालमा धेरै धेरै नै पार्टीहरूलाई सेल्टर दिएर, पालेर पठाएको ऐतिहासिक ठाउँ भएको पनि उहाँले स्मरण गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर