चन्दने कम्युनिष्ट, विद्रोहको विगुल र परिवर्तन – Nepal Press
संस्मरण

चन्दने कम्युनिष्ट, विद्रोहको विगुल र परिवर्तन

चालिसको दशकमा पञ्चायत व्यवस्थाविरूद्ध प्रतिबन्धित नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूले आफ्ना विद्यार्थी सं‍गठनमार्फत् आन्दोलन सञ्चालन गरिरहेका थिए । राजधानी काठमाडौंमा त आन्दोलन केन्द्रित थियो नै, विराटनगर, पोखरा बुटवललगायतका नवोदित सहरमा पनि व्यवस्थाविरोधी गतिविधि बढ्दै थिए ।

प्रतिबन्धित पार्टीहरूको प्रभावको पूर्वका पहाडी गाउँसम्म पुगेको थियो, हामीसम्म पनि पुगेको थियो । गाउँमा मास्टरको जगजगी देखेर मास्टरी पढ्न काठमाडौं आएर सानोठिमी क्याम्पस भर्ना भएको थिएँ । उच्च शिक्षा अध्ययनको पहिलो प्रहरमै अखिल(पाँचौं)को प्रारम्भिक कमिटी अध्यक्षको जिम्मेवारी हात लाग्यो ।

त्यहीं समयमा राष्ट्रिय पञ्चायतको चुनाव आयो । झापा विद्रोहको रापतापमा गठन भएको र तीव्र प्रभाव विस्तार गर्दै लगेको (प्र) नेकपा(माले)ले सो राष्ट्रिय पञ्चायतको चुनावमा आफ्नो तर्फबाट जनपक्षीय उम्मेदवार उठाएको थियो ।

तीमध्ये काठमाण्डौका पद्मरत्न तुलाधर, पोखराका सोमनाथ अधिकारी ‘प्यासी’, चितवनका जागृतप्रसाद भेटवाल, धेरै लोकप्रिय बने, चुनाव जिते । उनीहरूले चुनावीसभामा गरेका भाषणको टेप रेकर्ड देशको कुनाकाप्चासम्म पुर्याइयो । पञ्चायती व्यवस्थाविरुद्ध जनतालाई संगठित गर्न त्यो टेप रेकर्डले ठूलै भूमिका खेलेको थियो ।

राष्ट्रिय पञ्चायतको चुनाव सकिएको केही महिनापछि क्याम्पसको लामो विदामा तेह्रथुमको जल्जले सिम्ले(हाल फेदाप गाउँपालिका)का सानोठिमी क्याम्पसमा अखिलका सक्रिय केही विद्यार्थीले पनि सो टेपसहितै गाउँ फर्केका थियौं ।

गाउँ फर्केपछि रातिराति युवाहरू जम्मा गरेर टेप रेकर्ड सुनाउन थालियो । टेप सुन्न आएका युवा–विद्यार्थीलाई पञ्चायतविरोधी प्रशिक्षण दियौं । भाषणको टेपसँगै जनवादी गीत सुनाइदियौं । ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’ धेरै युवाले कण्ठस्थ गाउन थाले ।

एकदिन नजिकैको शंकर माविमा आठ कक्षामा पढ्ने विद्यार्थी पार्वती धाराबाट पानी ल्याउन प्रयोग गरिने तुमलेट बजाउँदै जनवादी गीत गाएर पानी पधेँरातिर जाँदै रहिछन् । सो सुनेपछि एक शिक्षकले पार्वतीलाई केरकार गरेछन् ।

हाम्रो अर्को ‘भूमिगत’ भेलामा विना बुलाइ मेहमान जसरी उनी पनि सामेल भए । त्यो भेलाबाट चिचिलिङ पोखरीमा पिकनिकको आयोजना गर्ने निर्णय भयो । हाम्रो समूहको बर्कत्ले भ्याएसम्म पिकनिक भव्य आयोजना गरियो ।

व्रिटिस लाहुरेको गावैं थर्काउने क्यासेट प्लेयरले चिचिलिङ पोखरीको वरिपरिको डाँडो थर्काउँदै जनवादी गीत बजाइयो । हाम्रो चाहनाविपरीत ती शिक्षकले पिकनिक कार्यक्रमलाई औपचारिक बनाए । हामी सबै विद्यार्थी नेतालाई पदअनुसारको आसन ग्रहण गराए । हामीले पनि पालैपालो पञ्चायती व्यवस्थाको उछितो काढ्यौं ।

भोलिपल्टदेखि हाम्रो गाउँमा प्रहरीको गस्ती बढ्न थाल्यो । काठमाडौंबाट गाउँ फर्किएका हामीहरूको तीनपुस्ते नालीबेली उतारिएछ । प्रहरीले पक्रनु पहिले हामी र हाम्रा अभिवावकलाई बोलाएर एकपटक सम्झाइबुझाइ गर्ने जिम्मा प्रधानपञ्चले लिएछन् । नजिकैको प्राथमिक विद्यालयको प्राङ्गणमा हामीलाई बोलाइयो ।

प्रधानपञ्च हामीलाई सम्झाउन थाले । राजाको विरोध गर्ने, पञ्चायती व्यवस्थाको विरोध गर्ने कांग्रेस र कम्युनिस्ट अराष्ट्रिय तत्व हुन् भने ।

‘तिमीहरू जस्ता देशका कर्णधार युवा कांग्रेस र कम्युनिस्ट जस्ता अराष्ट्रिय तत्वतिर लाग्नु भनेको आफू वर्बाद हुनु हो, जेलमा सड्नु हो, देशलाई बर्बाद पार्नु हो । तिमरुको अखिल त झापातिरको नक्स्लाइट हो, झन् खतरा हो’, उनले भने ।

प्रधानपञ्चले आफ्नो भनाइ सिध्याएपछि एकछिन सन्नाटा छायो ।

‘ल, कुरा बुझ्यौ होइन ? अब व्यवस्थाको विरोधमा लाग्दैनौ नि ! कि के छ भन्नु ?’

फेरि कोही बोलेन ।

‘हैन यो अराष्ट्रिय तत्व भनेको चाहिँ के अरे हओ प्रधानपञ्चज्यू ?’ मसँगै पढ्ने एक सुरो साथीले सोध्यो ।

‘अराष्ट्रिय तत्व भनेको राष्ट्रको अहित चिताउने तत्व हो, यति पनि थाहा छैन ?’ मास्टरी शैलीमा प्रधानपञ्चले भने ।

‘अनि हामी सबै अराष्ट्रिय तत्व, तिमीमात्रै राष्ट्रिय तत्व ? सुहाउने कुरा गर्नु पर्छ नि !’ साथी रिसले चुर भएर करायो ।

‘प्रधानपञ्च मुर्दावाद !’ अर्को साथीले सुरू गर्यो नारा ।

त्यहाँ उपस्थित सबै युवाले ‘मुर्दावाद’ कराए । पछाडिबाट कसैले करायो–‘यो प्रधानपञ्चलाई ठोक !’

प्रधानपञ्च भागे । कोही उसलाई ढुङ्गा हान्न खोज्दै थिए । हामीले रोक्यौं । कचहरी सकियो । हामी लाखापाखा लाग्यौं । तुरुन्त हल्ला घर–घर आइपुग्यो, गाउँका सबै व्यवस्थाविरोधीलाई पुलिसले पाता कसेर लादैँछ ।

तुरुन्त हामी क्याम्पसे केटाहरू पोका पुन्तुरा कसेर लुक्दै छलिंदै काठमाडौं फर्कियौं ।

०००

२०४५ साल । कोशी अञ्चलाधीशको कार्यालय विराटनगर । वैशाखको गर्मी । पञ्चहरुको भीडभाड । तत्कालीन राजा वीरेन्द्र धनकुटा भ्रमणमा रहेकाले पूर्वका पञ्चहरुको ताहुरमाहुर खपिसक्नु थिएन ।

हतकडीमा सजिएका हामी चारजनातिर सबैको नजर परिरहेथ्यो । हाम्रो ‘अपराधी’ टोलीमा तारा, कृष्ण र म तीनजना विद्यार्थीभन्दा बढी आकर्षणको केन्द्र मेरा एक पाका दाइ वासुदेव थिए । निधारमा लामो चन्दन लगाएका धोती फेरेका ती दाइको हातमा हतकडी देख्दा सबैको कौतुहलको पारो चढ्नु अस्वभाविक थिएन । हामीलाई हेरेर खासखुस गरेको देखिन्थ्यो ।

एउटा उमेर पाकेको दौरा सुरुवाल कोट लगाएको पञ्चले दाइलाई सोधे– के कसुर गरेर हतकडीमा पर्नुभयो भाइ ?

दाइलाई आफ्नो कसुर थाहा थिएन । दाइकी छोरी पार्वती अखिलको राजनीतिमा भर्खरै समावेश भएकी थिइन् । उनी जनवादी गीतमा राम्रो नाच्ने भएकोले मोदनाथ प्रश्रित उपस्थित हुने महेन्द्र मोरङ्ग क्याम्पस विराटनगरको एक कार्यक्रममा पठाइदिनू भन्ने एउटा चिठ्ठी वासुदेव दाइको नाममा मैले लेखेको थिएँ ।

बाटैमा त्यो चिट्ठी प्रहरीको खानतलासीमा फेला परेपछि उनलाई दार्जिलिङ जान पोकापन्तुरा कस्दै गर्दा गाउँबाटै पक्राउ गरिएको थियो । हामीलाई राजकाज मुद्धा चलाउने तारतम्य मिलाइँदै थियो ।

आफ्नो अधिकांश समय दार्जिलिङ्गमा पुरेत्याईं गरेर विताउने दाइलाई देशको राजनीतिप्रति त्यति धेरै चासो थिएन । हामीले उनको सामुन्ने आक्कलझुक्कल पञ्चायतको विरोध गर्दा ‘यी देश लुट्ने डाका पञ्चहरू’ भनेर झनक्क रिसाउँथे । ‘त्यहीं दार्जिलिङमा कति राम्रो व्यवस्था छ’ भन्थे ।

हामी तीन विद्यार्थीलाई भेडेटारमा समातिएको थियो । धरान पुलिस हिरासतमा एकरात राखेर हामीलाई सार्वजनिक बसमा हत्कडी लगाएर इनरुवा ल्याइयो । पक्राउ परेकाको संख्या बढी र धरान पुलिस थानामा फलामे कतकडी कम हुँदा कतिलाई सनपाटको दाम्लोले बाँधेर ल्याइएको थियो । सार्वजनिक बसका यात्रुले हामीलाई घाँटी तानी तानी हेर्थे ।

दाइले ग्लानी, आक्रोश र अनभिज्ञतामिश्रित भाव देखाउँदै मतिर हेरे । मलाई त्यो पञ्चसँग बोल्न मन थिएन । मैले बोल्न अन्कनाइरहँदा हाम्रो हतकडी समाइरहेको पुलिसले भन्यो– राजकाज मुद्दा हजुर !

पञ्च बोलेन । ऊ उता फर्कियो । शायद उसले हामीजस्ता ‘अराष्टिय तत्व’सँग बढी बोल्नु उसका लागि खतरा हुन सक्थ्यो । उनको खाइपाइ आएको सुविधा गुम्न सक्थ्यो ।

आफूलाई राजकाज मुद्दा लाग्दैछ भन्ने पहिलोपटक सुनेका दाइको अनुहार घामलाई एक्कासी बादलले छेकेजस्तो अँध्यारो भयो । उनको भृकुटी गाँठो पर्यो । उनका ओठ फर्फराए । र, गोडा थर्थराए ।

उनले आकाशतर्फ नजर डुलाउँदै बोले– लौ बर्बाद भयो । मेरा जजमानले मलाई मार्छन् अब । पर्सि र निकोपर्सि तीनवटा सराद्ध भ्याउनु छ । भोलि त कुनै हालतमा सिलगुडी पुग्नु छ ।’

सबै पञ्चहरुले अञ्चलाधीशलाई धनुष्टङ्कार नमस्कार गरेर त्यहाँबाट हिँडे । अञ्चलाधीशको कठघरामा उभिने हाम्रो पालो आयो ।

दानबहादुर शाही कोशी अञ्चलाधीश थिए । राजाका आधिकारिक प्रतिनिधि । अति विश्वासपात्र । उनी भनेपछि सबै त्राहीमाम । पन्ध्र दिनसम्मको हिरासत बसाइपछि हामीलाई मुद्धा फैसलाको सिलसिलामा त्यहाँ लगिएको थियो । अञ्चलाधीशको कोठाको एक कुनामा हामी उभियौं । अञ्चलाधीशले डायरी पल्टाए । चस्मा मिलाएर एकछिन हाम्रो नाम खोजे । पालैपालो बयान लिन थाले ।

‘अँ, निर्मल भट्टराई, यता नजिक आऊ ।’

मेरो हतकडी समातेको पुलिसले उसको टबवल अगाडि लग्यो ।

मलाई शीरदेखि पाउसम्म एकटक हेरे ।

पुलिसले अघिल्लो रात मलाई बेस्सरी कुटेको थियो । अनुहार सुन्निएको थियो । अञ्चलाधीश कार्यालय छिर्दा कतै ऐनामा मेरो दुवै आँखामुनि कालो दाग देखिएको थियो । कनसिरी उखेलेको ठाउँ उक्सिएको थियो । अघिल्लो रात पटक–पटक पुलिसले ‘तेरो सिपी मैनाली कहाँ छ ?’ भन्दै मेरा कन्सिरीका रौं उखेलेको र निर्घात पिटेको हुनाले म राम्ररी बोल्न सक्ने अवस्थामा थिइनँ ।

‘हेर्दा त ओठ निचोर्दा आमाको दूध आउला जस्तो छ, तिम्रो गाउँको प्रधानपञ्चलाई किन लखेटेको ?’

‘जनतालाई दुःख दिएकोले ।’

उसको अनुहारमा रीस दौडियो ।

‘भक्तपुर क्याम्पस पढ्दा रहेछौ । क्याम्पसमा कत्तिको नेतागिरी गरिन्छ ?’

‘म भक्तपुर क्याम्पसको भर्खरै निर्वाचित स्ववियुको पदाधिकारी हुँ ।’

‘पदाधिकारी ?!’

उसले अनेकन प्रश्न गर्यो । मैले सतर्कतापूर्वक जवाफ दिएँ ।

‘श्री ५ महाराजधिराज र पञ्चायत व्यवस्थाको कहिल्यै विरोध गर्दिनँ भन्ने कागजमा सही गर्यौ भने आजै छाडिदिन्छु, सही गर्छौ ? नत्र जाकिन्छौ ।’ उसले अन्त्यमा सोध्यो ।

‘गर्दिनँ’ मैले तुरुन्त जवाफ दिएँ ।

मसँग पक्राउ परेका साथीहरु कृष्ण दाहाल र तारामान मादेनलाई पनि उसले मलाई सोधेजस्तै अनेकन प्रश्न गर्यो ।

अन्त्यमा चन्दनधारी दाइलाई उसको अगाडि लगियो ।

‘यी नक्सलाइटहरुको साथमा यो चन्दने बाहुन कसरी ?’

हामीलाई नक्सलाइट भनेर गाली गरेको सुनेपछि मेरा चन्दने दाइ झन् बढी डराए । उनकी छोरीलाई पत्र लेख्ने भएकोले मसँग दाइ झन् रिसाए । लाग्दथ्यो– मलाई उनी भित्रभित्रै ठूलै दागा धर्दैछन् । अनुहारमा उनको रीस छर्लङ्ग देखिन्थ्यो । दाइ अगाडि बढे ।

‘मलाई केही थाहा छैन हजुर’, दाइले हात जोड्न खोजे । हतकडी बज्यो ।

‘छोरीलाई आठ कक्षा पढ्दै कम्युनिष्ट बनाउने ? वाह !’ उसले दाइलाई थप थर्कायो ।

‘म त सधैं दार्जिलिङतिर पाती पढ्न जाने बाहुन हुँ हजुर, मलाई केही थाहा छैन । म यो घाँटीको कण्ठी समाएर भन्छु, मलाई केही थाहा छैन हजुर !’

हुन पनि उनलाई देशको राजनीतिको गहिराइ थाहा थिएन । यत्ति हो— उनी समाजमा व्याप्त गरीबी, शोषण, दमन अन्याय र अत्याचार मन पराउँदैनथे । आफ्नो वर्षभरको पुरेत्याईंले राम्ररी परिवार पाल्न नसकेकोमा भित्रभित्रै आफ्नै प्रकारको आक्रोश थियो । वर्गीय आक्रोश थियो । आफ्नो देशले पनि ‘उता’को जस्तो व्यवस्था गरिदेओस् भन्ने अपेक्षा थियो ।

‘अ पण्डित क्यान नेभर वी अ कम्युनिस्ट । कम्युनिस्टहरु भौतिकवादी हुन्छन्, उनीहरू धर्मलाई अफिम भन्छन् तर पण्डितहरु कहिल्यै भौतिकवादी हुन सक्दैनन् । बुझ्यौ ?’ उनले नजिकैको प्रहरीको हाकिमतिर फर्केर भने ।

‘यो कन्दने बाहुनलाई आजै छोडिदिनू । यी केटाहरुलाई राजकाज ऐनअन्तर्गत छ महिना जेल चलान गर्नू ।’

हामीलाई त्यसै दिन विराटनगर जेल चलान गरियो । जेलभित्र थुप्रै राजबन्दी थिए । दिन कटनीस्वरुप राजबन्दीका लागि बाहिरबाट लुकाएर ल्याइएका राता किताब पढिन्थ्यो । रुसी क्रान्ति, चिनियाँ क्रान्ति, नक्सलवादी आन्दोलन, अध्यात्मवाद र भौतिकवादबारे लामा-लामा बहस हुन्थे । ती बहसमा सामेल भएपछि मात्र त्यो अञ्चलाधीशको आशय प्रष्ट भयो ।

प्रतिक्रिया

2 thoughts on “चन्दने कम्युनिष्ट, विद्रोहको विगुल र परिवर्तन

  1. हाे । महेन्द्र माेरङ बहुमखी क्याम्पसमा माेदनाथ प्रश्रितकाे भाषण सुनियाे । धरानका विद्यार्थीले खुव राम्राे नाच प्रदर्शन गरे । सायद पार्वती भट्टराई पनि कार्यक्रमा त ख्याल भएन । बाहिर कतै भेट भएकाे जस्ताे लाग्छ । त्यति ख्याल भएन । तर कसरी त्यहां पुगिन याे लेखबाट थाहा भयाे । माेदनाथ प्रश्रितले मानव उत्पत्ति र विकास, सांस्कृतिक विकास, धामी झांक्री संस्कृति, धर्मसंस्कृति र राजनीति, यज्ञ यगादि आदि विषयमा प्रभावकारी भाषण दिनु भएकाे याद छ । भाषण पछि त्यहांका क्याम्पस प्रमुखले आफ्नाे मन्तव्यकाे क्रममा दिएकाे प्रतिक्रियाकाे पनि याद आयाे-“Literature is dead, industry is rised.” तर अहिले यसाे हेर्दा – Industry is dead, Literature is transformed into industry like facebook, youtube, twiter, messenger etc. त्यस वेला राजा विकास क्षेत्र स्तरीय सवारका वेला खुव निगरानी गरेकाे अनुभव छ, विशेष गरि मैले त्यसवेला सुनेकाे मेरा लागि नयां शब्द- वामेहरुका लागि । पछि वुझ्दा वामपन्थी रहेछ । राजाकाे पूर्वाञ्चलकाे दरवार धनकुटा सवारी हुंदा विशेष गरि धरानबाट गएर भेडेटार पुगेपछि विशेेष चेक जाँच हुन्थ्याे राजा र पञ्चायत विराधी पर्चा पम्पलेट बाेकेका छन कि भनेर । केेहि समय पछि साथीहरु गरफ्तारमा पर्नुभाे अरे भन्ने सुनियाे । पछि निर्मल जी विराटनगर जेलमा हुनुहुन्छ भन्ने सुने पछि भेट्न गइयाे । भेट भयाे । आफुले जेलनेल नभाेगेकाे र क्याम्पसमा साथीहरुबाट ज्यादैत यातना दियाे भनेकाे सुन्दा मलाई पनि साेध्न मन लाग्याे-बसाई, खानपीनकाे व्यवस्था के कस्ताे छ भनेर । जवाफमा अहिले राजवन्दी भएकाेले ठीकैै छ भन्ने आयाे । सन्ताेष नै लाग्याे । तर मसंग एउटा पाइयाेे भने एउटा नाेट कपि ल्याइदिनुस्न भन्नू भएकाे थियाे । फरक विषय भएकाेले आफूसंग त हुने कुरा भएन । तैपनि केही साथीहरुसंग साेधखाेज गरें पाइएन । त्यस पछि एक दुई पटक झल्याक झुलुक वाहेक त्यस्ताे भेटघाट भएकाे छैन । साथीलाई नाेट कपि उपलव्ध गराउन नसकेकाे कुरा कहिले काहिँ सम्झना आउँछ, पछुताे पनि लाग्छ । यदि दिन सकेकाे भए, त्यस क्षणमा कति राहत मिल्थ्याे हाेला ।
    लेख पढेर आएकाे सम्झना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *