खुकुलो निषेधाज्ञाबारे समीक्षा गर्न उपत्यकाका तीन सीडीओको बैठक भोलि बस्दै – Nepal Press

खुकुलो निषेधाज्ञाबारे समीक्षा गर्न उपत्यकाका तीन सीडीओको बैठक भोलि बस्दै

ललितपुरमा तत्काल विद्यालय नखोलिने

काठमाडौं । काठमाडौं उपत्यकाको खुकुलो निषेधाज्ञाबारे समीक्षा गर्न तीनै जिल्ला प्रशासनका सीडीओहरुको बैठक भोलि बस्ने भएको छ । संक्रमण दर घटेको तर मृत्युदर स्थिर रहेको परिस्थितीमा बस्न लागेको तीन प्रमुख जिल्ला अधिकारीको बैठकले खुकुलो तुल्याइएका कतिपय क्षेत्रबारे समीक्षा गर्ने भएको छ ।

बैठकले भदौ मसान्तसम्म कायम रहेको निषेधाज्ञालाई स्मार्ट लकडाउनको कार्यविधिअनुसार कसरी अघि बढाउनेबारे निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रशासनले विद्यालय खुलाउन अनुमति दिएपनि स्थानीय निकायलाई विद्यालय खुलाउन भैरहेको कठिनाइबारे पनि छलफल हुने सीडीओ रिजालले जनाए ।

अघिल्ला सीडीओ कालिप्रसाद पराजुलीले अन्य सीडीओहरुसँग छलफल नै नगरि विद्यालय खुलाउन अनुमति दिएपछि असन्तुष्ट रहेका नयाँ सीडीओ रिजाल र भक्तपुर तथा ललितपुरका प्रजिअले स्कुल खुलाउन दिने वा नदिनेबारे निर्णय गर्ने भएका छन् ।

अघिल्ला सीडीओ पराजुलीले आफूहरुको सल्लाहबिनै विद्यालय खुलाउन आदेश दिएपछि अहिले भक्तपुर र ललितपुरका सीडीओहरु असन्तुष्ट छन् । काठमाडौंका सीडीओ रिजालले पनि अघिल्लो आदेशको समीक्षा हुने बताइसकेका छन् ।

ललितपुरमा भने तत्काल विद्यालय नखुलाइने भएको छ । चाडपर्व पनि नजिकिएको र संक्रमण पनि बढ्ने सम्भावनाले ललितपुरमा विद्यालय खुलाउन अनुमति नदिइने ललितपुर सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । चाडपर्व नजिकिँदै गर्दा भाइरस संक्रमण पुनः बढ्ने र अवस्था जोखिमपूर्ण हुनसक्ने भन्दै विज्ञहरुले विद्यालय खोल्ने प्रशासनको गतसाताको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

भोलि बस्ने बैठकले फिल्म हल लगायतमा तोकिएको ५० प्रतिशत अकुपेन्सीबारे व्यवसायीको मागबारे पनि छलफल गर्ने भएको छ । निषेधाज्ञा र संक्रमणको परिस्थितीबारे समीक्षा गर्न भोलि बिहान तीनै जिल्ला प्रशासनहरुको डीसीसीएमसी बैठक बस्दैछ र अपरान्ह तीन सीडीओ आदेश जारी गर्नेछन् ।

अहिलेको निषेधाज्ञा भदौ मसान्तसम्म कायमै छ ।

शनिबार काठमाडौंमा २३०, ललितपुरमा ८५ र भक्तपुरमा ४२ जना कोभिड संक्रमित थपिएका छन् । सक्रिय संक्रमित संख्या उपत्यकामा शनिबारसम्म ६५३१ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर