विधान महाधिवेशनका प्रतिनिधि छनौटबारे थप छलफल गर्न एमाले बैठक स्थगित, आजै फेरि बस्ने – Nepal Press

विधान महाधिवेशनका प्रतिनिधि छनौटबारे थप छलफल गर्न एमाले बैठक स्थगित, आजै फेरि बस्ने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनका प्रतिनिधि छनौटमा थप छलफल गर्नु पर्ने भएपछि स्थायी कमिटी बैठक आजै फेरि बस्ने गरि स्थगित भएको छ ।

असोज ४ र ५ मा आयोजना हुने विधान महाधिवेशनमा ३ हजार प्रतिनिधि सहभागी गराउने सहमति भए पनि त्यसमा सहभागी हुनेहरूको बारेमा थप छलफल आवश्यक भएको बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य प्रतिनिधि रहने वैधानिक व्यवस्था रहे पनि नवौं महाधिवेशनपछि ती सदस्य निर्वाचित नभई माओवादीसँग पार्टी एकता भएकाले महाधिवेशन प्रतिनिधि निश्चित गर्न छलफल उनले बताए ।

भट्टराईले भने- ‘संगठन विभागबाट करीव ३ हजार प्रतिनिधि हुने प्रस्ताव आएको छ । केन्द्रीय कमिटी, विभाग, निकाय, प्रदेश तथा जिल्ला र स्थानीय तह तथा जनसंगठनबाट प्रतिनिधित्व हुन्छ । यसमा थप छलफल हुने भएकाले आजै ३ बजे अर्को बैठक बस्छ ।’

एमाले स्रोतका अनुसार नेकपा विभाजनपछि तत्कालीन ओली पक्षले केन्द्रीय सदस्य थपेका व्यक्तिलाई राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनाएर त्यसमा १० बुँदे सहमति अनुसार अरुलाई समेत समेटेर टुंगो लगाउनेबारे पनि नेताहरूबीच छलफल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर