सरकारमा नेकपा एसबाट कसले गर्ला नेतृत्व ? – Nepal Press

सरकारमा नेकपा एसबाट कसले गर्ला नेतृत्व ?

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी हुने निश्चित नै छ । सर्वोच्च अदालतले २८ गते बोलाएको छलफल सकिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी सतारुढ गठबन्धनको छ ।

यसबीच भौतिक पूर्वाधारसहित पर्यटन, भूमिसुधार, खेलकुद लगायतका ६ मन्त्रालय पाउने भनिएको एकीकृत समाजवादीबाट सरकारमा कसले नेतृत्व गर्छ भन्ने धेरैको चासाे छ ।

करिब एक वर्षका लागि सरकार संचालन गर्ने समय भएकाले मन्त्रालय प्रभावकारी रुपमा चलाउन सक्ने व्यक्ति पठाउनुपर्ने दबाब नेताहरुलाई छ।

पार्टी अध्यक्ष माधव नेपाल अझन् दबाबमा छन् । मन्त्री हुनलाई संघीय सांसद हुनुपर्छ । माधव नेपालका संघीय संसदमा ३० सांसद छन् । जसमध्ये मुकुन्द न्यौपाने, बेदुराम भुसालहरु वरिष्ठ हुन् ।

माधव नेपालले वरिष्ठताको आधार बनाए मुकुन्द न्यौपाने वा बेदुराम भुसालमध्ये एकजनाको नेतृत्वमा नेकपा एस सरकारमा सहभागी हुने सम्भावना छ ।

तर, नेकपा एसकै एक नेता न्यौपाने र भुसालको नेतृत्वमा नभइ तेस्रो व्यक्तिको नेतृत्वमा सरकारमा जाने सम्भावना रहेको बताउँछन् ।

भुसाललाई महामन्त्री बनाउने तयारी माधव नेपालले गरेकाले उनले पार्टी संचालनको जिम्मेवारी पाउने र न्यौपानेको यसअघिको पर्फमेन्स राम्रो नभएकाले दुवैजना सरकारमा नजाने उनको भनाइ छ।

‘बेदुरामले पार्टी चलाउने भनेपछि सरकारमा जाने कुरा भएन,’ ती नेताले नेपाल प्रेसँग भने, ‘मुकुन्द पनि हुनुहुन्छ । तर, उहाँहरु दुवैजना नजाने सम्भावना छ।’

मुकुन्द न्यौपाने २०५६ तिर उद्योगमन्त्री बनेका थिए । त्यतिबेला उनको प्रस्तुति सन्तोषजनक थिएन । त्यहीं कारण न्यौपानेको सम्भावना कम रहेको बताइन्छ।

‘मुकुन्द्र कमरेडको राम्रो पर्फमेन्स नै भएन,’ ती नेताले भने, ‘उहाँको नेतृत्वमा जाँदा उपप्रधानमन्त्रीसहित जानुपर्यो । अहिले उपप्रधानमन्त्री नबाउने जस्तो पनि छ । अनि राम्रो मन्त्रालय पनि हुनुपर्यो । त्यसकारण उहाँको सम्भावना छैन।’

उसो भए तेस्रो व्यक्ति को हो ? जसले सरकारमा जानेहरुको नेतृत्व गर्नेछ ? न्यौपाने र भुसाल नजाने भएपछि सांसदहरुमध्ये विरोध खतिवडा वरिष्ठ हुन् । यद्यपी मुकुन्द न्यौपानेबाहेक बेदुराम र विरोध पार्टीमा सिनियर भए पनि यसअघि मन्त्री नभएका कारण सरकारको वरियतामा उनीहरुभन्दा प्रेम आले अगाडि आउछन् । एकपटक मन्त्री भइसकेका कारण बरियताक्रममा उनको नाम पहिले आउँछ ।

नेकपा एसबाट प्रेम आले,विरोध खतिवडा, मेटमणि चौधरी, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ,  रामकुमारी झाँक्री,भवानी खापुङ लगायत मन्त्री हुने सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर