विमानस्थलको मुआब्जाबाट मस्जिद पुनःनिर्माण – Nepal Press

विमानस्थलको मुआब्जाबाट मस्जिद पुनःनिर्माण

रुपन्देही । रुपन्देही गौतमबुद्ध विमानस्थलको अधिग्रहण क्षेत्रमा परेको मस्जिद मुस्लिम अगुवाहरुको नेतृत्वमा पुनःनिर्माण गरिएको छ । २०६२ सालमा निर्माण भएको मस्जिद हाल निर्माणाधीन विमानस्थलको अधिग्रहणमा परेपछि मदरसासहितको मस्जिद नयाँ स्थानमा बनाइएको हो ।

रुपन्देहीको सिद्धार्थनगर ११ शंकरपुरमा २ कठ्ठा ६ धुर क्षेत्रफलमा करिब एक करोडको लागतमा मस्जिद निर्माण भएको मदरसा अरवियिा अहले सुन्नत नुरुल ओलुमका अध्यक्ष मोहम्मद मुस्तफाले जानकारी दिए । ‘बाल विकासदेखि पाँच कक्षासम्म पढाइ हुने र एकैसाथ २ सय जनासम्मले सामूहिक प्रार्थना गर्न सक्नेगरी मस्जिदको निर्माण भएको छ’, उनले भने, ‘अब यहाँ नियमित दैनिक ५ पटक नमाज हुन्छ ।’

मदरसा व्यवस्थापन समितिका अनुसार विमानस्थलको मुआब्जाबापत आएको ७० लाख, सिद्धार्थनगर वडा समितिमार्फत आएको ५ लाख र स्थानीय मुस्लिम समुदायको आर्थिक सहायतामा मस्जिद तथा मदरसा निर्माण भएको हो ।

मस्जिदको निर्माणपश्चात अब शंकरपुरका साथै वरपर धर्मपुर, कचरिहवा आसपासका मुस्लिम समुदायले साम्हिक प्रार्थना गर्न पाउनेछन् । कक्षा ५ सम्म मुस्लिम दिनीयात तालिमसहितको नेपाली पाठ्यक्रममा आधारित शिक्षा मदरसाबाट प्राप्त हुने समितिले जानकारी दिएको छ ।
मस्जिदको मरहरा सरिफका पिरे तरिकत मौलाना शाहिद रजा जैदी र पिरे तरिकत शहजादे मुक्तरुल औलिया मशउद रजा किब्ला वराव शरिफले जुमाको नमाज पढाएर उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै वक्ताहरुले विश्वको सबैभन्दा उत्कृष्ट र शान्त ठाउँ नै मस्जिद रहेको बताए । स्थानीय मौलाना तथा मोलबीहरुको उपस्थितिमा शुभारम्भ भएको मस्जिद निर्माणका लागि अध्यक्ष मोहम्मद मुस्तफा तथा सदस्यहरु मकबुल अहमद, मुस्ताक अहमद, मनौअर अलि, कमरुद्दीन पठान, मोहम्मद शइद शेख, जलालुद्दिन पठान, मोहम्मद युसुफ शेख, इब्राहिम खान लगायतको नेतृत्वदायी भूमिका रहेको थियो ।

लुम्बिनी प्रदेशमा रुपन्देही मुस्लिम समुदायको धेरै बसोबास भएको जिल्ला हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *