प्रधानसेनापति शर्माको पहिलो सम्बोधन : राष्ट्र हित र स्वार्थको संरक्षण गर्न सधै तयार छु (भिडियाेसहित) – Nepal Press

प्रधानसेनापति शर्माको पहिलो सम्बोधन : राष्ट्र हित र स्वार्थको संरक्षण गर्न सधै तयार छु (भिडियाेसहित)

चार मार्गनिर्देशक सिद्धान्तलाई अंगीकार गर्ने प्रतिवद्धता

काठमाडौं । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले जस्तो सुकै जटिल परिस्थितिमा पनि संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दै राष्ट्र हित र स्वार्थको संरक्षण तथा प्रवद्र्धनन गर्नका लागि सधै तयार रहेको प्रतिवद्धता जनाएको छ । शुक्रबार नवनियुक्त प्रधान सेनापति शर्माले जंगी अड्डामा सकलदर्जालाई पहिलो सम्बोधन गर्ने क्रममा यस्तो प्रतिवद्धता जनाएका हुन् । नेपालको संविधानले नेपाली सेनालाई देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा तथा जगेर्ना आफुलाई जिम्मेवारी सुम्पिएको उनले बताए ।

४ मार्गनिर्देशक सिद्धान्तलाई प्रमुख आधारका रूपमा अंगीकार गर्ने
नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारी निर्वाह गर्न चार मार्गनिर्देशक सिद्धान्तलाई प्रमुख आधारका रूपमा अंगीकार गर्ने योजना अघि सारेका छन् । जसमा पहिलो नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय प्रतिरक्षा नीतिबाट निर्दिष्ट जिम्मेवारीप्रति प्रतिबद्ध रहने, दोस्रो सैनिक मूल्यमान्यता, संस्कृति, प्रचलन र परम्पराको जगेर्ना गर्ने, तेस्रो विद्यमान र सम्भावित सुरक्षा चुनौती सामना गर्न समयसापेक्ष रूपान्तरित, सक्षम, गतिशील र प्रभावकारी संगठनको विकास गर्ने र चौथो ‘बहुजन हिताय बहुजन सुखाय’ अनुसार विस्तारित कल्याणकारी कार्यमार्फत् सकलदर्जा र तिनका आश्रितको जीवनस्तरमा सुधार गर्ने रहेका छन् ।

प्रधान सेनापतिको भिजन : ३ जोड १ कमाण्डको सफल कार्यान्वयन गरिँदै लगिने
‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत संविधानप्रदत्त सम्पूर्ण जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्न सक्षम, सुदृढ, आधुनिक र व्यावसायिक सैनिक संगठन तयार गरिनेछ’ । प्रधानसेनापतिको भिजनमा उल्लेख छ । यसका लागि, नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति र नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ अनुसार समयानुकूल सांगठनिक सुदृढीकरण, जनशक्तिको विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा प्रविधिको उच्चतम प्रयोगलाई संस्थागत गर्ने उनले उल्लेख गरेका छन् ।

उक्त ‘भिजन’लाई मूर्तरूप दिन राष्ट्रिय सुरक्षा, संगठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्ति विकास, सवल बन्दोबस्ती प्रणाली र कल्याणकारी कार्यलाई प्राथमिकतामा राखी ६ वटा लक्ष्य केन्द्रित कमाण्ड नीति तथा मार्गनिर्देशन– २०७८ जारी गरिएको जनाइएको छ । नेपाल सरकारद्वारा जारी भएको ‘राष्ट्रिय सुरक्षा नीति’ र ‘राष्ट्रिय प्रतिरक्षा नीति’ अनुरूपको ‘राष्ट्रिय सैनिक रणनीति’ को निर्माण र वैधता प्राप्त गर्दै सैनिक मूलग्रन्थ पुनरावलोकन गरिने पनि उनले प्रतिवद्धता जनाएका छन् । यिनै नीति, रणनीति र मूलग्रन्थलाई आधार मानेर ३ जोड १ कमाण्डको सफल कार्यान्वयन गरिँदै लगिने उनले बताएका छन् ।

कुनै पनि किसिमका पदीय मर्यादा र आचरणविपरीतका गतिविधि क्षम्य नहुने
नेपाली सेना ऐतिहासिक कालखण्डदेखि नै पद्धति र प्रणालीमा आधारित संगठन रहेको र यसमा सेना सदैव कटिबद्ध रहने प्रधानसेनापति शर्माले बताए । साथै संगठन सामूहिक भावनाबाट चल्ने भएकोले संगठनलाई सुदृढ र सशक्त बनाउन सामूहिक भावनाअनुरुप निर्णय गरिने उल्लेख गरेका छन् । त्यसैगरी नेपाली सेनाले चेन अफ कमाण्डलाई पूर्णरुपमा अबलम्बन गर्दै कुनै पनि किसिमका सैनिक अनुशासन, पदीय मर्यादा र आचरणविपरीतका गतिविधि तथा संगठनलाई सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने जस्ता अवाञ्छित गतिविधि किमार्थः क्षम्य नहुने पनि प्रतिवद्धता जनाएका छन् ।

प्रधान सेनापति छात्रवृत्तिदेखि कल्याणकारी छात्रवृत्ति दिने घोषणा
नेपाली सेनाका सकलदर्जा र हिताधिकारीको कल्याणकारी कार्यको लागि विभिन्न सेवा सुविधा बिस्तार गर्ने पहिलो सम्बोधनमा नै सार्वजनिक गरेका छन् । जसमा शिक्षा क्षेत्रमा प्रधान सेनापति छात्रवृत्ति र कल्याणकारी छात्रवृत्ति (स्वदेश)को लागि आफ्नै व्यवस्थापनमा अध्ययन गरिरहेका हिताधिकारीका एकजना सन्ततीलाई कक्षा ६ देखि १२ सम्म अध्ययन गर्न वार्षिक २० हजारका दरले सैनिक कल्याणकारी छात्रवृत्ति उपलब्ध गराउदै आईरहेकोमा २०७९ वैशाखको शैक्षिक सत्रदेखि कक्षा ४ र ५ मा अध्ययन गरिरहेका हिताधिकारीका सन्ततीलाई समेत बार्षिक २० हजार प्रदान गरिनेछ । त्यसैगरी लुम्बिनी प्रदेशको उपयुक्त स्थानमा सैनिक महाविद्यालय स्थापना गरी शैक्षिक सत्र २०८० बाट संचालन गर्ने घोषणा गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा सेवा बिस्तारको लागि लुम्बिनी प्रदेशमा २५ शैयाको फिल्ड अस्पताल स्थापना गरी सेना दिवस २०७९ बाट संचालन गरिनेछ भने वीरेन्द्र अस्पतालमा मुटुरोग निदान र उपचारको लागि क्याथ ल्यावको स्थापना गरिनेछ । साथै श्री त्रिचन्द्र मिलिटरी अस्पतालको सुविधा विस्तार गरिनुका साथै वीरेन्द्र अस्पताल र उपत्यका बाहिर अक्सिजन प्लाण्टको स्थापना गरिनेछ ।

६० बर्ष पुरा गरेका भूतपूर्व सैनिक तथा नीवृत्तिभरणमा वार्षिक ५ हजारले वृद्धि
कल्याणकारी निवृत्तिभरणमा पुनरावलोकन गरी ६० बर्ष उमेर पुगेका भूतपूर्व सैनिक तथा पारिवारिक नीवृत्तिभरणमा रहेकालाई वार्षिक रुपमा ५ हजारमा वृद्धि गरी २०७८ असोज १ गतेदेखि बार्षिक १२ हजार उपलब्ध गराइने बताएका छन् । त्यसैगरी विगतको द्वन्दमा ज्यान गुमाउने तथा कर्तव्यपालनाको सिलसिलामा मृत्यु हुने सकलदर्जाका पारिवारिक निवृत्तिभरणमा रहेका करिब ८ सय जना एकल महिलाको निवृत्तिभरण रकममा मासिक ५ हजारका दरले थप गरी क्रमशः ३५ सय र २५ सय उपलब्ध गराइने भएको छ । साथै द्वन्दमा घाईते तथा अपाङ्गता भएका सकलदर्जालाई चारपाङ्ग्रे स्कुटर उपलब्ध गराईनेछ ।

दश वर्ष वा सो भन्दा बढी सेवा अवधि पुरा गरेका सकलदर्जालाई आवास निर्माणको लागि २५ लाखसम्म सहुलियतपूर्ण व्याजदरमा आवास कर्जा उपलब्ध गराईनेछ । त्यसैगरी कल्याणकारी यातायात सुविधा प्रदान गर्न वहालवाला सकलदर्जालाई बर्षमा एक पटक घर विदा जाँदा निःशुल्क यातायात सुविधा उपलब्ध गराईनेछ भने सकल दर्जाको लागि परिवार आवासको बिस्तार गरिनेछ ।

सैनिक कमाण्ड तथा स्टाफ तालिमको शिक्षार्थी कोटा पुनरावलोकन गरी उक्त तालिमको लागि २०७८ सालको प्रवेश परीक्षाबाट लागु हुने गरी हालको प्रावधान अनुसार नेपाली सेनाको शिक्षार्थी संख्या ५७ जनामा शिक्षार्थी संख्या २० थप गरी जम्मा ७७ बनाईनेछ । अन्य सुरक्षा निकायको हकमा ३ वटा र विभिन्न मित्रराष्टको लागि राखिएको १२ वटा कोटा यथावत राखिनेछ । यसरी कोटा थप गरेपछि कमाण्ड तथा स्टाफ तालिमको अधिकतम शिक्षार्थी संख्या ९२ कायम हुनेछ ।

नेपाली सेनाको प्रतिष्ठा, जनविश्वास र राष्ट्र विकासमा योगदान पुर्याउन रणनीतिक दृष्टिकोणबाट महत्वपूर्ण मानिएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई र मधेस द्रुतमार्ग निर्माण कार्यलाई निर्धारित समयमा सम्पन्न गर्न विशेष पहल गरिनेछ । त्यसैगरी, नेपाली सेनालाई जिम्मेवारी प्राप्त अन्य महत्त्वपूर्ण करिडोर निर्माणका कार्यहरुलाई पनि समयमै सम्पन्न गरिनेछ ।

संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेनाको गुणात्मक सहभागिता वृद्धि गर्दै नेपाललाई भरपर्दो र विश्वसनीयका रूपमा विकास गरिनेछ भने शान्ति सेनामा सकलदर्जाको समतामूलक सहभागिताको लागि थप प्रयासहरुसमेत गरिनेछ । आमसञ्चार माध्यमबाट नेपाली सेनालाई प्राप्त साथ र सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत नेपाली सेना र आमसञ्चार माध्यमबीचको व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउँदै लगिनेछ । साथै आगामी दिनमा रक्षा मन्त्रालय र नेपाली सेनाबिचको व्यावसायिक सम्बन्ध थप प्रगाढ र सुदृढ बनाउन प्रयास गरिने छ ।

सम्बोधनको क्रममा उनले आफ्ना प्राथमिकता र आगामी कार्यदिशाका बारेमा जानकारी गराउनुका साथै सकलदर्जालाई निर्देशन पनि दिएका छन् । सम्बोधन कार्यक्रमपछि उनले “Leaders’ Reading Clloection-2078” संग्रहको विमोचन गर्दै भई उक्त संग्रहको उत्कृष्ट लेखकलाई पुरस्कार तथा प्रमाण–पत्र समेत वितरण गरेका छन् । उक्त सम्बोधन पूर्व पदबहालीको शुभ अवसरमा जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच भिन्न क्षमता भएका नेपाली सेनाका सवारी चालक अनुमति प्राप्त ७ जना सकलदर्जालाई चारपाङ्ग्रे स्कुटर तथा सवारी चालक अनुमति नभएका १९ जनालाई जनही एक लाख ४० हजारका दरले आर्थिक राहत समेत वितरण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *