चीनले यसवर्षको अन्त्यसम्म १० करोड डोज खोप वितरण गर्ने – Nepal Press

चीनले यसवर्षको अन्त्यसम्म १० करोड डोज खोप वितरण गर्ने

ब्रिक्स सम्मेलनमा राष्ट्रपति सीले गरे घोषणा

काठमाडौं । चीनले यसवर्षको अन्त्यसम्म विकासोन्मुख मुलुकलाई १० करोड डोज कोभिड-१९ विरुद्धको खोप वितरण गर्ने घोषणा गरेको छ । ब्रिक्स मुलुकहरुको बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङले यस्तो घोषणा गरेका हुन् ।

चिनियाँ राष्ट्रपतिले खोप वितरणको घोषणा गरेसँगै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले समेत यसलाई सामाजिक संजालमा सेयर गरेकी छिन् ।

सीले भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिकाका सरकार तथा राष्ट्र प्रमुखहरु सहभागि ब्रिक्सको भर्चुअल बैठकमा यस्तो घोषणा गरेका हुन् । खोप घोषणासँगै राष्ट्रपति सीले पश्चिमा मुलुकहरुको प्रभुत्वविरुद्ध ब्रिक्स सदस्य राष्ट्र एक हुनुपर्ने समेत बताएको सिन्ह्वाले जनाएको छ ।

‘हाम्रा पाँच मुलुकले विश्वमा बहुपक्षधरताको समर्थन गरेका छन् । साथै समानता, न्याय र पारस्परिक साझेदारीको भावनाअघि विश्वलाई नेतृत्व गरिरहेका छन्’ सीले भने, ‘हामी यी तत्वसहित अन्तर्राष्ट्रिय मञ्चमा बलियो शक्तिको रुपमा स्थापित भएका छौं ।’

ब्रिक्स मुलुकहरुले एकअर्काको सामाजिक प्रणाली र विकासको पथलाई सम्मान गर्ने समेत सीले बताएका छन् । कतिपय मुलुकहरुले आफ्ना नागरिकलाई खोप लगाउन तथा भाइरस संक्रमणबाट मुक्त हुन संघर्ष गरिरहेको बेला चीनले खोप सहायताको घोषणा गरेको हो ।

यसैसाता चीनले तालिबानको नयाँ अफगानिस्तान सरकारलाई खाद्यान्न र औषधिसहित कोभिड–१९ खोप सहायता दिने घोषणा गरेको छ । साथै, चीनले कोभ्यासलाई १०० मिलियन डलर बराबरको सहायता गर्ने घोषणा पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर