चितवनमा तेजेन्द्रले छाडे माधवको साथ, नेकपा एसको अध्यक्षमा कृष्णराज – Nepal Press

चितवनमा तेजेन्द्रले छाडे माधवको साथ, नेकपा एसको अध्यक्षमा कृष्णराज

राजेन्द्र पाण्डेको टिप्पणी- माधव नेपाललाई धोका दिनेले सधैँ धोका पाउँछन्

चितवन । चितवनका नेता तेजेन्द्रबहादुर खड्काले माधव नेपालको साथ छाडेका छन् । उनी एमाले विवादमा माधव-खनाल समूहको समानान्तर कमिटीका अध्यक्ष थिए ।

शुक्रबार नेकपा (एकिकृत समाजवादी) चितवनको जिल्ला र भरतपुर महानगर कमिटी घोषणा कार्यक्रममा उनी देखा परेनन् । स्रोतका अनुसार कमिटीको अन्तिम नामावली तयार पार्दासँगै रहेका खड्काले एक्कासी भेला स्थगित गर्न आग्रह गरेका थिए । उनी २०७३ मा एमाले चितवनको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

खड्का एमाले चितवनकै पुरानो जिम्मेवारी पाउने सुनिश्चित भएपछि उनी माधव पक्षीय दलबाट टाढिएको स्रोतको दावी छ । नेकपा एमाले चितवनको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको बैठक यही २८ गते विहान ११ बजे मदननगरमा बस्दैछ ।

नेपाल समूहको समानान्तर कमिटी गठनपछि एमालेकी तत्कालीन सचिव पार्वती रावलले एमाले चितवन अध्यक्षका रूपमा काम गर्दै आएकी थिइन् । १० बुँदे सहमतिका २०७५ जेठ २ अघिका संरचना व्युँताउने भएपछि चितवनमा तत्कालीन एमालेका संरचनाहरु पुरानै अवस्थामा चल्न संकेत देखिएका छन् । खड्का अलग्गिएपछि नेकपा (एकिकृत समाजवादी) चितवनको अध्यक्षको जिम्मेवारी डा. कृष्णराज पन्तलाई दिइएको छ । पन्त २०५८ सालमा एमालेको जिल्ला सचिवालय सदस्य, क्षेत्र नम्बर १ को इञ्चार्ज हुन् ।

पन्तको नेतृत्वमा नेकपा एस चितवनको २ सय २३ सदस्यीय जिल्ला कमिटी घोषणा भएको छ । उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज लब्ली न्यौपाने, सचिवमा केपी लामिछाने, सहसचिवमा दिव्या शर्मा आचार्य चयन भएका छन् । यस्तै ५ सदस्यीय सचिवलाय सदस्यहरुमा खोमकान्त रेग्मी, नरेन्द्र कन्दङवा, प्रेमराज तिमिल्सिना, विष्णुराज महतो, विष्णुहरी तिवारी छन् ।

भरतपुर महानगर-२२ का वडाध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा १ सय ६८ सदस्यीय भरतपुर महानगर कमिटी चयन गरिएको छ । उपाध्यक्षमा केशवराज पोखरेल, सहसचिवमा शोभा पण्डित रहेका छन् । सचिव पदमा पछि मनोनित हुने जनाइएको छ । जिल्ला र महानगर कमिटी दुवैलाई केन्द्रीय कमिटी सदस्य केदार न्यौपानेले सपथग्रहण गराए ।

सूर्य चिन्हले भोट जितिँदैनः राजेन्द्र पाण्डे

नेकपा एसका नेता राजेन्द्र पाण्डेले जनताको मत जित्न चुनाव चिन्ह नै महत्वपूर्ण नहुने जिकिर गरेका छन् । नेता, कार्यकर्तालाई चितवनमा सम्बोधन गर्दै उनले भने, ‘तपाईं जनताको घरदैलोमा पुगेपछि आज भन्लान् सूर्य चिन्ह छोड्न सकिन्न । सूर्य चिन्ह छान्ने कि मलाई छान्ने भनेर सोध्नुस् न । हामीले नै चिनाएको हो सूर्य चिन्ह ।’

कम्युनिष्ट पार्टी गलत बाटोमा लागेपछि जनताले नै सर्वनास गरिदिने उदाहरण सुनाए । माधव नेपाललाई धोका दिनेहरू आफैं धोका खाने दावी गरे । ‘वार्ता गर्ने साथीहरूले माधव नेपाललाई उनीहरू भयङकर विश्वास दिलाए, तपाईंको साथमा छौ भने, पार्टी नयाँ बनाउनुपर्छ भने’, उनले भने, ‘अन्तिममा उनीहरुले कुरा फेरे, माधव नेपाललाई धोका दिनेलाई उनीहरूलाई पनि कुनै दिन धोका हुन्छ होला नी । धोका दिनेले धोका खानैपर्छ, त्यो कुरा कहिल्यै विर्सनुहुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर