भक्तपुरको दुवाकोटमा वीर अस्पतालले सेवा विस्तार गर्दै – Nepal Press

भक्तपुरको दुवाकोटमा वीर अस्पतालले सेवा विस्तार गर्दै

काठमाडौं । भक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’को सेवा विस्तार गर्न थालिएको छ । वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकोमा अबदेखि विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको हो ।

उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए । ‘एक महिनाभित्र प्रत्येक सातामा दुई दिन वीर अस्पतालबाट विशेषज्ञसहितको टोली गई उपचार गर्नेछ । साधारण एक्स–रे, भिडियो एक्स–रे र परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याइनेछ’, उनले भने । वीर अस्पतालले तीन वर्षअघि दुवाकोटस्थित परियोजनामार्फत् सेवा दिँदै आएको छ ।

अहिले दैनिक ३०–४० बिरामी नियमितरुपमा उपचार गर्न त्यहाँ जाने गरेका छन् । पाँच सय ३८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पताललाई सरकारले यसै आर्थिक वर्षदेखि अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक अस्पताल बनाउन बजेट विनियोजन गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा दुवाकोट अस्पताललाई समेटी चालु आवमा विस्तृत परियोजन प्रतिवेदन तयार गरी अर्को आवदेखि भवन निर्माण थालिने मिश्रले बताए । ‘अब सबै काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्छ’, उनले भने । मन्त्रालयले चाँडै नै आयोजना प्रमुख नियुक्त गर्ने तयारी गरेको छ ।

वीर अस्पतालमा अहिले पुरानो भवनमा चार सय ६० र नयाँमा पाँच सय शैय्या सञ्चालनमा छ । नयाँ सर्जिकल भवनलाई सरकारले कोरोनाभाइरस संक्रमितको उपचारका लागि ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’मा परिणत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर