एमाले अवरोधबीच राष्ट्रियसभामा दल विभाजनसम्बन्धी अध्यादेश पेस – Nepal Press

एमाले अवरोधबीच राष्ट्रियसभामा दल विभाजनसम्बन्धी अध्यादेश पेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश-२०७८ पेस गरिएको छ ।

शुक्रबार बैठक शुरू हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । तर, एमाले सांसदहरूको अवरोधबीच गृहमन्त्री बालकृष्ण खाणले सो अध्यादेश पेस गरेका छन् । त्यसैगरी बैठकले संविधानसभा सदस्य जनवादी गायक जुठबहादुर खड्गी ‘जेबी टुहुरे’ र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ ।

सो प्रस्ताव पारित गर्नु अघि एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभामा सभामुख अग्नीप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदहरु संसदहरुलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराए ।

एमालेले गत २३ गते बुधबारबाट शुरू भएको संघीय संसदको दुवै सदन अवरुद्ध पार्दै आएको छ । राष्ट्रियसभाको अर्को बैठक भदौ २६ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर